राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५% लाभांश जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५,४७४ सदस्य सहकारी संघ–संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको लगत्तै सहकारी सदस्यहरुको खातामा लाभांश पठाईएको उल्लेख गर्नु भयो । एकाइ प्रतिनिधिहरुको साधारणसभा सोमबार सम्पन्न भएसँगै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो ।

बैंकले गत आर्थिक वर्ष ०७८/७९ मा रु ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैया लाभांश वितरण गरेको छ, सहकारी बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरीएको बैंकले जनाएको छ, बैंकले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ/संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकसँग गरिने कारोबारमा वृद्धि गरी थप लाभान्वित हुन सम्पूर्ण सहकारी संघ–संस्थाहरुमा अनुरोध गरेको छ ।

बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूंजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ, बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पूंजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पूंजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।