बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
अन्तिम स्वीकृति प्रदान गर्दै राष्ट्र बैंकले मर्जरपछि बन्ने बैंकको नाम परिवर्तन गर्न निर्देशन दिएको थियो । दुवै बैंकको साधारणसभाले मर्जरपछि बन्ने बैंकको नाम 'ग्लोबल आइएमई बिओके लिमिटेड' कायम हुने गरि प्रस्ताव पारित गरेको थियो । तर एकिकृत कारोबारको लागि दुवै बैंकको साधारणसभाबाट पारित गरिएको ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ नाम भने परिवर्तन भएको छ । दुवै बैंकले अब ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार गर्ने भएको हो ।
राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकिकृत कारोबारको बाटो खुल्नेछ । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । दुवै बैंक १:१ को अनुपातमा मर्ज हुन लागेका हुन् ।
मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक लिमिटेड हुने छ भने अध्यक्षमा चन्द्र ढकाल नै रहने छन् । सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन् ।



About Us
प्रतिक्रिया