शाइन रेसुङ्गा बैंकको १३.३०% बोनस पछिको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन बैंकको १३.३० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात बैंकको शेयरमूल्य ३०३ रुपैयाँ ६२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात सोमबार बैंकको शेयर प्रतिकित्ता ३४४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बैंकले पुस २५ गते, सोमबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लि., मणिग्राम, रुपन्देहीमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले शेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।