मेगा बैंकको साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडको बार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । 

बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं बार्षिक साधारण सभाले मुल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका शेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः९०) मा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । योसँगै नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुबै बैंक एक आपसमा गाभिई संयुक्त कारोवार गर्ने, बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ ।

साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुबै बैंकको नाम र काम अनुसारको गरिमालाई उचो बनाउन दुबै बैंकमा रहेका असल परम्परा संस्कार, ग्राहकहरुको सेवा, कर्मचारीहरुको मिलान र व्यवस्थापन तथा शेयरधनीहरुको जेथा र लाभांशमा न्यायोचित वृद्धि र निरन्तरता दिइने विश्वास व्यक्त गरे । ‘हामीले “हलोदेखि हाइड्रो” सम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी शेयरधनी भएको बैंक र सबभन्दा बढी रु. २३३ करोड चुक्ता पूँजी भएको बैकको रुपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका थियौं, मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड देशकै ठूलो बैंक बन्ने विश्वास लिएको छु ।’ अध्यक्ष शाहले भने । 

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले मेगा बैंकले लिएको हलोदेखि हाइड्रोसम्म नारा सार्थक र सफल भएको बताइन् । आर्थिक समावेशितालाई प्राथमिकता दिँदै जनताको घरदैलोमा बैंकको सेवा पुर्‍याई शहरदेखि दूरदराजका गाउँसम्मका आममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर स्थापना भएको मेगा बैंकले वित्तीय बजारमा उत्कृष्ट छविको परिचय बनाउनुका साथै भरोसा र विश्वास आर्जन गर्न सफल भएको उनले बताइन् । आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको कामु सिइओ श्रेष्ठले बताइन् । 

यसैगरी, साधारण सभाले शेयरधनीहरुका लागि बोनस शेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ । आ.व. २०७८/७९ सम्म सञ्चित भएको बितरणयोग्य रकम १ अर्ब २६ करोड ३० लाख ५९ हजार ५२० रुपैंयाबाट हाल कायम चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैंया ३६ पैसाको ४ प्रतिशतले हुन आउने रकम अक्षरेपी ६४ करोड ४८ लाख १८ हजार ४ सय ५८ रुपैंया १३ पैसा बोनस शेयर लाभांश र ३.७९ (राउन्डिङ्गमा) प्रतिशतले हुन आउने रकम रु. ६१ करोड २ लाख ४३ हजार २ सय ८० रुपैंया ६६ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको हो ।