बाराही हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट, ५१ हजार ५२२ जना आवेदकले पाए १० कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज पुस ३ गते बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ आइतबार बाँडफाँट भएको हो ।

कम्पनीको शेयरमा १२ लाख ५८ हजार ४२१ जना योग्य आवेदकबाट एक अर्ब ४३ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ५१ हजार ८३० कित्ता शेयरको लागि आवेदन दिएका थिए । कुल आवेदकहरू मध्ये ६५ हजार ९२७ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट वितरण गरिएको हो । रितपूर्वक आवेदन दिएका ११ लाख ९२ हजार ४९४ जनालाई बाँडफाँटमा सहभागी गराई भाग्यमानी ५१ हजार ५२२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । 

कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले पहिलो चरणमा स्थानीयमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्तासमेत जोडेर कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा वितरण गरेको हो । सर्वसाधारणमा वितरण गरिएको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयर भने सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

काठमाडौंको बबरमहलमा रजिष्ट्रार्ड कार्यालय रहेको यस कम्पनीले बाग्लुङ जिल्लाको कुश्मीसेरा र सर्कुवा गाविसको सिमाना स्थित १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाको बाँध निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन शुरु गरी नियमित रुपमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ ।