बैंकिङ्ग समाचार, काठमाडौं ।
उद्योग संगठन मोरङले आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’को आयोजना गर्ने भएको छ ।
प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा यही मङ्सिर २९ देखि आगामी पुस ६ गतेसम्म हुने जनाईएको छ ।
सङ्गठनले सबैभन्दा पहिलो एक्स्पोको आयोजना ‘कोशी महोत्सव’–का नामबाट २०५३ सालमा आयोजना गरेको थियो । आज २०७९ मा विराट एक्स्पोको सातौँ संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीमध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान र ब्रान्डको स्थापना गर्न सफल भएको छ ।
एक्स्पोको उद्देश्य
विराट एक्स्पो एक औद्योगिक एक्स्पो हो । त्यसैले यसका माध्यमबाट उत्पादक र उपभोक्ताबिच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान हुनेछ । एक्स्पोले उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुर्याउनेछ । साथै कृषि–उत्पादनको व्यवसायीकरण गर्न एक्स्पोको अहम् भूमिका हुने कुरा विश्वस्त छ ।
यसबाहेक यसबाट पर्याप्त रूपमा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार हुने र आन्तरिक पर्यटनको प्रवद्र्धन हुने हाम्रो विश्वास छ । यस एक्स्पोबाट नवप्रवद्र्धक (स्टार्टअप)हरूको व्यावसायिक विकासमा सहयोग पुग्नेछ । यसबाट स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन ठुलो योगदान पुग्नेछ ।
यस पटकको सातौँ संस्करणमा केही फरक र नयाँपन दिने प्रयत्न हो । कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगसँगै यस पटकको एक्स्पोलाई विशुद्ध औद्योगिक एक्स्पोको फ्लेवर दिन खोजिएको छ । जस्तै आर्थिक एवम् औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल गरेर अनुभवको आदान–प्रदान गर्न दैनिक रूपमा फरक–फरक विषयमा प्राविधिक सत्र, अन्तरक्रिया तथा सेमिनारहरूको आयोजना गरिनेछ ।
एक्स्पोमा प्रदेश नम्बर १ मा लगानीका सम्भावित क्षेत्रहरूको लगानी पेभिलियन, नवउद्यमीहरूको उद्यमशीलता विकास गर्न स्टार्टअप पेभिलियन, श्रम–रोजगार र सीप फाँटका लागि छुट्टै पेभिलियन तथा पर्यटन क्षेत्रलाई पनि छुट्टै पेभिलियनको व्यवस्थापन गरेका छौँ । यसबाट एक्स्पोमा समग्र औद्योगिक इकोसिस्टमको प्रदर्शन हुने विश्वास रहेको छ ।



About Us
प्रतिक्रिया