बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा बैंकले ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत बढेर ९ अर्ब ४३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ भने खुद फि तथा कमिसन आम्दानी ६.२५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २.३७ प्रतिशत र सञ्चालन मुनाफा १३.९८ प्रतिशत बढेको छ ।
नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३६ पैसा घटेर २१ रुपैयाँ ७८ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ३७ पैसा रहेको छ ।
नेपाल बंगलादेश बैंकलाई गाभेपछि नबिल बैंकको हालको चुक्ता पूँजी २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड रुपैयाँ थियो । समिक्षा अवधिमा ६४.९२ प्रतिशतले पूँजी बढाएको छ । मर्जर पछि बैंकको जगेडा कोषमा उल्लेख्य सुधार भएको छ । यस अवधिमा ६८ प्रतिशतले जगेडा कोष बढाउदै बैंकले २६ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ ।
समिक्षा अवधिमा निक्षेप संकलन ४५ प्रतिशतले निक्षेप सुधार गरेको छ भने ५२ प्रतिशतले निक्षेप बृद्धि गरेको छ । यस अवधिमा बैंकले ३ खर्ब २६ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १ अर्ब कर्जा विस्तार गरेको छ ।



About Us
प्रतिक्रिया