जीवन विकास लघुवित्तको नाफा ७८ करोड बढी, ईपीएस भने घट्यो

जीवन विकास लघुवित्तको नाफा ७८ करोड बढी, ईपीएस भने घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा ११२ दशमलव ९६ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ३८ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ८१ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा ६७ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले गत आर्थिक वर्षमा ३७ करोड ५८ लाख रुपैयाँ मात्र यस्तो कर्जा उठाएको छ ।

गत वर्ष कम्पनीले ७० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजार पुर्‍याएको छ । जगेडा कोष रकम १७ दशमलव ७७ प्रतिशत बढी रू. १ अर्ब ५४ करोड कायम भएको छ । अघिल्लो वर्षभन्दा कम्पनीको कर्जा सापटी साढे १ प्रतिशत बढी रहेको छ भने कर्जा प्रवाह १६ दशमलव २३ प्रतिशत बढी छ । कम्पनीले गत वर्ष १८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ रुपैयाँ ७४ पैसा घटेर ७५ रुपैयाँ ६० पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा रहेको छ ।