बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जर भई एकीकृत कारोबार सञ्चालक गर्ने लघुवित्तहरुलाई एक वर्षसम्म विभिन्न विशेष छुट प्रदान गर्ने भएको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन/परिमार्जन गर्दै नयाँ सुबिधाहरुको व्यवस्था गरेको हो । सो अवधिभित्रमा मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने लघुवित्तहरुलाई राष्ट्र बैंकले जोखिम भारित सम्पत्ति र लाभांशमा विशेष छुट दिने भएको हो ।
मर्जर वा प्राप्ति गरी पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा उक्त मितिले १ वर्षसम्म जोखिम बापत कूल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने व्यवस्था गरिएको हो ।
त्यस्तै वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्ने व्यवस्थामा २०८० असार मसान्तसम्मको लागि छुट प्रदान गर्ने व्यवस्था गरिएको आज जारी निर्देशनमा उल्लेख छ ।
यसअघिको निर्देशिका संशोधन गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । यसअघि २०७९ असार मसान्तसम्मको लागि मात्र छुट दिएको राष्ट्र बैंकले अब थप एक वर्ष दिने भएको छ ।
प्रतिक्रिया