खर्च नियन्त्रण गर्न नसक्दा जाल्पा सामुदायिक लघुवित्तको नाफा घट्यो, कमायो करिब १० करोड नाफा

खर्च नियन्त्रण गर्न नसक्दा जाल्पा सामुदायिक लघुवित्तको नाफा घट्यो, कमायो करिब १० करोड नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ करोड ८६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ६७ प्रतिशत कम खुद नाफा गरेको हो ।

अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १० करोड ३४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष खराब कर्जा संकलनमा कमि आउँदा कम्पनीको खुद नाफा घटेको देखिन्छ । अघिल्लो वर्ष ६ करोड ९८ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष ३ करोड ८४ लाख रूपैयाँभन्दा बढी मात्र यो कर्जा संकलन गरेको देखिन्छ ।

खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च, कर्मचारी खर्च बढेपछि र खराब कर्जा संकलनमा कमि आउँदा कम्पनीको खुद नाफा घटेको देखिन्छ । कम्पनीको सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा १ दशमलव ४५ प्रतिशत कम ९ करोड ४६ लाख रूपैयाँभन्दा बढी मात्र भएको छ । हाल कम्पनीको चुक्तापूँजी १६ करोड रूपैयाँ रहेको छ भने जगेडा कोष रकम ४७ करोड २६ लाख रूपैयाँभन्दा बढी छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५७ दशमलव ८९ प्रतिशत बढी १ अर्ब ८९ करोड रूपैयाँ कर्जा सापटी लिएको कम्पनीले ४० दशमलव २९ प्रतिशत बढी ५ अर्ब ५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । 

यस अवधिसम्म कम्पनीको निक्षेप संकलन भने साढे २० प्रतिशत बढी २ अर्ब ५५ करोड रूपैयाँ भएको छ । निष्क्रिय कर्जा ३ दशमलव १४ प्रतिशत अघिल्लो वर्ष रहेकोमा गत वर्ष घटेर २ दशमलव ३२ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६१ रूपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ ३४७ रूपैयाँ ७० पैसा रहेको छ ।