राष्ट्र बैंकको सर्वेक्षणः ३ महिनामै मूल्यवृद्धि १४ % पुग्ने, कृषिजन्य खाद्य वस्तुको मूल्य आकाशिने 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

आगामी ३ महिनामा नेपालको मुद्रास्फीति (मूल्यवृद्धि) को दर १४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो । 

सर्वेक्षणका अनुसार गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी ३ महिनामा मूल्य वृद्धि हुने प्रक्षेपण गरिएको हो । तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश गत चैतको तुलनामा घटेको छ । 

\"\"

राष्ट्र बैंकले २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत् सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षण ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित छ । अघिल्लो सर्वेक्षणको तुलनामा यो अध्ययन २१० थप व्यक्तिहरू थपिएको राष्ट्र बैंक बताउँछ । 

सर्वेक्षणमा ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको छ ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार उपभोक्ताले अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन् भने ३ महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहनेछ ।  

 

मुद्रास्फीति अपेक्षा सर्वेक्षण