बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले बैशाख २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (जेठ ४ गते) अन्तिम दिन रहेको छ । बैंकले ‘१०.५० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको थियो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।



About Us
प्रतिक्रिया