बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकमा चेक साट्न जाँदा हस्ताक्षर नमिले रकम पाइँदैन । आमाबाबु, छोराछोरी, श्रीमान, श्रीमती वा आफन्तको त परै जाओस् हस्ताक्षर नमिले खातावाला आफैले समेत रकम झिक्न पाइदैन ।
तर, सानिमा बैंक इटहरीले भने कीर्ते हस्ताक्षर गरिएको चेकको रकम भुक्तानी गरेको पाइएको छ । शाखाले कीर्ते हस्ताक्षरयुक्त चेकबाट रकम भुक्तानी गरिएको तथ्य बाहिरएिको छ ।
भोजपुरको षडानन्द नगरपालिका–२ घर भई हाल मोरङको सुन्दरहरैंचा नगरपालिका–६ का कमल घिमिरेको नाममा रहेको चेकबाट कीर्ते हस्ताक्षर हुँदाहुँदै बैंकले रकम भुक्तानी दिएको पायएको हो । वैदेशिक रोजगारीमा रहेका घिमिरेको चेकमा कीर्ते हस्ताक्षर गरी ४ लाख २२ हजार रकम झिकिएको छ । पहिलोटपक २०७७ फागुन १४ गते (२६ फेब्रुअरी २०२१) मा ३ लाख रकम झिकिएको छ । दोस्रोपटक २०७७ चैत ८ गते (२१ मार्च २०२१) मा १ लाख २२ हजार रकम झिकिएको पीडित घिमिरेले जानकारी गराएका छन् ।
उनका अनुसार बैंकमा रहेको आफ्नो हस्ताक्षर र रकम भुक्तानी दिएको चेकमा गरिएको हस्ताक्षर मेल खाँदैन । ‘न हस्ताक्षर मिलेको छ न त म नै देशमा छु’, पीडित घिमिरेले भने, ‘आफू विदेशमा हुँदा यसरी पैसा निकालिन्छ भनेर मैले अनुमानसमेत गरेको थिएन ।’
इटहरी शाखाले देखाएन सक्कली हस्ताक्षर
कीर्ते हस्ताक्षर गरेर आफ्नो खाताबाट रकम भुक्तानी दिइएपछि घिमिरेले शाखामा आफ्नो सक्कली हस्ताक्षर हेर्न मागे । तर, शाखाले नदेखाएको उनले जानकारी दिएका छन् । ‘मैले बैंकमा कुरा गर्दा सीसीटीभी फुटेज र चेकको हस्ताक्षर देखाउने जानकारी दिएको थियो’, घिमिरेले भने, ‘तर पछि बैंकमा जाँदा शाखा म्यानेजरले अदालतको आदेश आएमात्रै देखाउने भनेर अलमल्याए ।’
बैंकले अलमल्याएपछि घिमिरे प्रहरीकोमा पुगे । प्रहरीले उनलाई सक्कली हस्ताक्षर हेर्ने तरिका सिकाए ।
प्रहरीको आइडियाअनुसार उनी बैंकको बेलबारी शाखा पुगे । प्रहरीले सिकाएको तरिका अपनाए र आफ्नो सक्कली हस्ताक्षर प्रमाणको रुपमा ल्याए ।
यसरी पत्ता लाग्यो सानिमाको बदमासी
सन २००८ देखि लगातार घिमिरे विदेशमा रहेका थिए । उनले सन् २०११ ताका बिहे गरे । बिहेपछि घिमिरे पुनः विदेशिए । उनले सामान्य लेखपढमात्रै गर्न जान्ने श्रीमतीलाई पैसा पठाए । श्रीमतीले पनि घिमिरेको इटहरीस्थित सानिमा बैंकको खातामा पैसा जम्मा गरिन् । उनले कतिपय भौचरहरु फेसबुकबाट श्रीमान्लाई पठाउथिन् । घिमिरेले ढुक्कसँग पैसा पठाइरहे । श्रीमतीले खातामा पैसा जम्मा गरेको भन्दै आइन् ।
घिमिरेको दाबीअनुसार उनको खातामा २३ लाख हाराहारी रकम हुनुपर्ने थियो । तर जब उनी गत फागुन १७ गते नेपाल आए । नेपाल आएपछि आफ्नो बैंक खाता बुझ्न बैंक पुगे । त्यसबेला उनी झसंग भए । खातामा जम्मा ८ लाख हाराहारीमात्रै पैसा देखियो । बैंकले उनलाई ४ लाख २२ हजार रुपैयाँ झिकिएको जानकारी दियो । उनले चैत २५ (८ अप्रिल २०२२) मा बैंक स्टेटमेन्ट निकाले । स्टेटमेन्टमा दुई पटक रकम निकालेको देखियो ।
यसपछि उनले श्रीमतीलाई पनि यसबारे सोधपुछ गरे । तर, श्रीमतीले समेत सत्यतथ्य जानकारी नदिएको उनको भनाइ छ । ‘मैले श्रीमतीलाई पनि चेकमा कसले हस्ताक्षर गरेर पैसा निकाल्यो भनेर सोधेँ । तर, उनी भन्न तयार छैनन्’, घिमिरेले भने, ‘यो मेरो श्रीमतीले मात्रै गरेको काम हैन ।’
घिमिरेले बैंकका केही कर्मचारी वा बैंकसँग जोडिएको व्यक्तिको मिलेमतोमा कीर्ते हस्ताक्षर गरिएको चेकबाट पैसा निकालिएको दाबी गरे ।
हस्ताक्षर नमिल्दा पनि भुक्तानी गर्नु गल्ती भयोः ब्रान्च म्यानेजर
घिमिरेले ब्रान्च म्यानेजरले पटकपटक श्रीमतीलाई बोलाएर कुरा गरेकाले आफूलाई झन् बढी शंका लागेको बताए । ब्रान्च म्यानेजरले भने घिमिरेको श्रीमतीले नै पैसा निकालेका यो घरको समस्या भएको जिकिर गरे । श्रीमतीको परिचयपत्र लिएरै पैसा दिइएको पनि उनले बताए ।
‘चेकमा आफ्नै हस्ताक्षर नमिल्दा पनि पैसा झिक्न पाइँदैन । तर, श्रीमती हुँदा चाहिँ लान पाइने हो’ भन्ने प्रश्नमा ब्रान्च म्यानेजरले भने, ‘त्यो चै हाम्रो तर्फबाट गल्ती भयो ।’ दुई पटक हस्ताक्षर नमिले पनि रकम भुक्तानी गर्नुलाई गल्ती भएको स्वीकार गरेका म्यानेजर श्रेष्ठले घिमिरेलाई सक्कली हस्ताक्षर नदिएको कुरा भने अस्वीकार गरे ।



About Us
प्रतिक्रिया