बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले १० प्रकारका सामानहरु आयात गर्न पूर्ण बन्देज लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल आयात गर्न रोकेको हो ।
मन्त्रालयका अनुसार असार मसान्तसम्मका लागि भन्दै आयातमा पूर्ण रोक लगाइएको हो । मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।
अब कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका) ल्याउन पाइने छैन ।
यस्तै, जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु र खेल्ने तास ल्याउन नपाइने राजपत्रमा उल्लेख छ ।
प्रतिक्रिया