बैंकिङ्ग समाचार, काठमाडौं ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले बिहीवार सुचना जारी गरी सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको जानकारी दिएको हो ।
धितोपत्र दोस्रो बजारमा कम्पनीले बोनस वापतको शेयर फागुन २२ गते सूचीकृत गराईसकेको छ । फागुन २३ गतेदेखि कारोबारयोग्य भएको कम्पनीको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुले हितग्राही खातामा प्राप्त गरिसकेपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत पुस २३ गते सम्पन्न २५औं वार्षिक साधारण सभा मार्फत ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गरेको थियो । कम्पनीको रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार चुक्तापूँजीको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश प्रयोजनका लागि पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाएका छन् । कर समेतको नगद लाभांश भने कम्पनीले माघ ५ गतेदेखि वितरण गर्न सुरु गरिसकेको छ । लाभांश वितरण प्रकृया पनि प्रविधिमैत्री बनिसकेको अवस्थामा कम्पनीले बैंक खातामा नगद लाभांश र हितग्राही खातामा बोनस शेयर जम्मा गरेको हो ।
यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो । कम्पनीको विगतका वर्षहरुको लाभांश इतिहासलाई हेर्दा अधिकतम ५० प्रतिशतसम्म लाभांश दिएको अवस्था छ । आर्थिक वर्ष ०६८/६९ को मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च ५० प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया