बैंकिङ्ग समाचार, काठमाडौं ।
पुस ५ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले यस दिन हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) र साना किसान लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले एचआईडिसीएलको ८ प्रतिशत र साना किसानको २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एचआईडिसीएलको मूल्य २४८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको १ हजार १७६ रुपैयाँ कायम भएको छ।
नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार एचआईडिसीएलको शेयर प्रतिकित्ता २६८ रुपैयाँ २० पैसा र साना किसानको १ हजार ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २२ गते, बिहीबार आफ्नो केन्द्रिय कार्यालय, हात्तीसारमा दशौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ९ बजे अभौतिक रुपमा शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस १८ गते आइतबार, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २० औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, बोनस वितरणपश्चात चुक्ता पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
सोमबार यही समायोजन मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।






About Us
प्रतिक्रिया