बैंकिङ्ग समाचार, काठमाडौं ।
निरन्तरको गिरावटपछि सेयर बजारले बियरिस ट्रेन्ड समातेको अनुभुती गरिएको छ ।
पछिल्लो समय बजारप्रति लगानीकर्ताको मनोबल कमजोर बन्दै जानु, नियामक निकाय बजार प्रति बेखबर बन्नु, नियामक निकाय नेतृत्व बिहीन बन्नु, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुन जस्ता कारणले बजार वियरिसतिर जान लागेको जानकारहरु बताउँछन ।
लगानीकर्ताले निकै प्रतिक्षा गरेको ४/१२ को नीतिलाई राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा कुनै सम्बोधन नगरेपछि मनोबल खस्काएका लगानीकर्तालाई तरलता अभावले निकै समस्या बनाएको छ । जसको कारण बजारले बियरिस ट्रेन्ड समातेको लगानीकर्ताहरु बताउँछन् ।
बुधबारको कारोबारमा इन्डेक्समा भारी गिरावट आउँदा कारोबार रकम पनि निकै घटेको छ । बजार मापन गर्ने सूचक ५३.१० अंकले घटेर २४५५.८१ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स बजार ९.३४ अंकले घटेर ४६४.७९ बिन्दुमा रोकिएको छ ।
२२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँको सेयर किनबेच भएको छ ।
यो दिन सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ २६.१३, विकास बैंक १५१.२१, जलविद्युत ८९.४८, फाइनान्स ७४.१, निर्जीबन बीमा २३५.६९, उत्पादन तथा प्रशोधन १७०.५६, माइक्रोफाइनान्स १२५.६२, जीवन बीमा समूहको उपसूचक २९४.४४ अंकले घटेको छ ।






About Us
प्रतिक्रिया