बैंकिङ्ग समाचार, काठमाडौं ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गते बिहीबार (आज) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको हो । कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा सर्वसाधारण लगानीकर्ताले कार्तिक ४ देखि शेयरमा ८ गते सोमबारसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यद्यपी कम्पनीको शेयर ६७ हजार ८९० जनाले मात्र पाउने भएकाले दश कित्ताको आवेदन नै यो निष्काशनका लागि प्रयाप्त हुनेछ ।
सर्वसाधारणले मेरो शेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं ४ र ५ का बासीन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी आईआर डबल बी माइनस रेटिङ्ग' प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ ।
प्रतिक्रिया