बैंकिङ्ग समाचार, काठमाडौं ।
अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर बढाएर डबल डिजिटमा पुर्याएपछि त्यसको प्रतक्ष्य असर पूँजी बजारमा परेको छ । सोमबार ६९.५१ अंकले घटेको बजार मंगलबार सो बिन्दुभन्दा धेरै ७७.३३ अंकले ओरालो लागेको छ ।
एक दर्जन वाणिज्य बैंकले ब्याजदर बढाएर १० प्रतिशतमाथि पुर्याएका छन्। ब्याज अझै बढ्ने चर्चा छ। ब्याजदर र शेयर बजारको सम्बन्ध विपरितहुने भएकाले लगानीकर्ताले शेयर बजारमा भन्दा मुद्दती निक्षेप राखेर ब्याजमा फाइदा देखेकाले पनि बजारमा ठूलो करेक्शन आइरहेको छ । शेयर कर्जामा राष्ट्र बैंकले लागू गरेको ४/१२ करोडको सीमाका कारण घट्न थालेको बजार ब्याददर वृद्धिले थप घट्न मद्दत पुगेको हो ।
दशैंपछि पहिलो कारोबार दिन आइतबार साढे १७ अंकले बढेको शेयर बजारमा ब्याजदर वृद्धिको असरले सोमबार र मंगलबार भारी गिरावट देखिएको छ । पछिल्लो दुई कारोबार दिनमा मात्रै नेप्से १४६ अंकले घटेको हो । मंगलबारको गिरावटसँगै नेप्से सूचक २५१०.७३ बिन्दुमा झरेको छ । मंगलबार नेप्से २.९९ प्रतिशत र ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स २.७४ प्रतिशत (१३.२८ अंक) ले घटेको हो । सन्सेटिभ ४७१.९१ बिन्दुमा झरेको छ ।
यसदिन ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । कूल २२१ वटा कम्पनीको ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर ५४ हजार ४५२ वटा संख्यामा खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आएका कूल १३ वटै उपसमूहगत सूचक राताम्मे भएका छन् । फाइनान्स ५ प्रतिशत र विकास बैंक तथा जलविद्युत सूचक ४ प्रतिशतभन्दा धेरै घटेको छ । बैंकिङ्ग, होटल, निर्जीवन बीमा, उत्पादन, अन्य, लघुवित्त, जीवन बीमा, र लगानी सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
स्टकका अनुसार मंगलबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ११ करोड १२ लाख ९५ हजार रूपैयाँ बराबरको ७७ हजार ८८१ कित्ता शेयर काराबार भएको छ ।
यसैगरी नेपाल क्रेडिट एण्ड कमर्स बैंक संस्थापक १०.०२ करोड, अपि पावरको ९.९५ करोड, नेशनल हाइड्रोपावर ९.२७ करोड र हिमालयन डिष्टिलरीको ९.१० करोडको शेयर कारोबार भएको छ । एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर, रैराङ हाइड्रोपावर र मेगाा बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको मेगा बैंकको ६ करोड ४८ लाखको शेयर करोबारमा आएको छ ।
मंगलबार महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ४.४९ प्रतिशतले बढ्ला मानुषी लघुवित्तको पनि ४ प्रतिशतले मूल्य बढेको छ । माउन्टेन इनर्जी नेपाल ३.५५ प्रतिशत र मेरो माइक्रोफाइनान्सको २ प्रतिशतका दरले शेयरमूल्य बढेको छ ।
ता मंगलबार नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशत र नेशनल हाइड्रोपावरको मूल्य ९.४९ प्रतिशतले घटेको छ । अरुण भ्याली र मैलुङखोला हाइड्रोपावरको मूल्य ८ प्रतिशत धेरैले घट्दा पोखरा फाइनान्स, लिवर्टी इनर्जी, चिलिमे हाइड्रोपावर, पाँचथर पावर, पञ्चकन्या माई र आइसीएफसी फाइनान्सको शेयरमूल्य ७ प्रतिशतका दरले घटेको छ ।
प्रतिक्रिया