बैंकिङ्ग समाचार, काठमाडौं ।
छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद भएपछि यतिबेला नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना विवादित बनेका छन्। केही दिनअघि हिमालखवरले उनकी छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता सेयर रहेको समाचार प्रकाशन गरेको थियो।
सर्वोत्तम सिमेन्टले ‘बुक बिल्डिङ’मार्फत प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरिरहेको छ। सो कम्पनीको सेयर जारी हुने भएपछि अध्यक्ष ढुंगानाले पदीय मर्यादाविपरित छोरीका नाममा सेयर खरिद गरेको भन्दै विवादित भएका छन्। बोर्डका कर्मचारीहरुले यस विषयमा सत्यतथ्य छानविन गरी दोषी देखिएमा कारबाही गर्न माग गरेका छन्।
धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजुबहादुर जिसीले एक विज्ञप्ति जारी गर्दै पुँजी बजारको पारदर्शिता र स्वच्छता कायम राख्नको लागि अविलम्व छानविन कार्य अघि बढाई दोषी देखिएमा कारबाही गर्न माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ ‘यसले बोर्ड अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान, आचार संहिताअनुसार गम्भीर नैतिक पतन भएको देखिएको हुँदा करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै कुल गार्हस्थ्य उत्पादन बराबरको बजार पुँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नलाई तत्काल निलम्बन गरी ऐनको दफा ७ (७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा छानविन कार्य अघि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न माग गर्दछौं।’
सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले आइपिओको प्रक्रिया सुरु गर्नुअघि नै केही संस्थापकले बिक्री गरेको सेयर किनिएको हुन सक्ने बताउँछन्। ४ करोड कित्ता सेयरमध्ये जम्मा ८ लाख कित्ता सेयर बिक्री गर्नका लागि त्यतिबेला अनुमति दिइएको उनले बताए। सुरुआतमा १७ जना संस्थापक सेयरधनी रहेकोमा बिक्रीपछि अहिले ५४ जना पुगेको न्यौपाने बताउँछन्।
प्रतिक्रिया