काठमाडौं । लघुवित्त विरुद्धको संघर्ष समिति नेपालले अगामी फागुन १ गतेदेखि आन्दोलनलाई बृहत बनाएर लैजाने तयारी सुरु गरेको छ । उक्त समितिले विगत २ वर्षदेखि लगातार रुपमा लघुवित्त संस्थाहरुको विरोध गर्दै आएको थियो भने समितिले लघुवित्त क्षेत्र खारेजीको माग राख्दै आएको छ ।
समितिका अध्यक्ष मनिराम ज्ञवालीले फागुन १ गतेदेखि हुने आन्दोलन आफुहरुको माग पूरा नभएसम्म चलिरहने बताए । उनका अनुसार १ गतेबाट सुरु हुने आन्दोलनमा सबैभन्दा बढि मधेस प्रदेशका पिडित सहभागि हुनेछन् । उनले हजारौं पिडितहरु मुग्लिनदेखि काठमाडौंसम्म पैदल आउने जानकारी दिए ।
समितिले लघुवित्त संस्था खारेज गर, सामूहिक ऋण मिनाह गर, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यक क्षमता र कामको आधारमा ज्यालाको व्यवस्था, सामाजवादी अर्थतन्त्रको विकास लगायतका मागहरु सरकार समक्ष पेस गरेको छ ।
समितिले २०७९ पुस मा नेपाल लघुवित्त बैंकर्स संघको अनुरोधमा आन्दोलन स्थगित गरेको थियो । नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिबीच १२ बुँदे सहमति भएपछि समितिले आन्दोलन स्थगित भएको थियो । लघुवित्त बैंकर्स संघले १२ बुँदे सहमति कार्यन्वयन नभएपछि लघुवित्त विरुद्धको संघर्ष समिति नेपालले असारमा फेरि आन्दोलन सुरु गरेको थियो ।
त्यस्तै, गत साउनमा गृह मन्त्रालयले पनि पिडितको समस्या समाधान गर्ने प्रतिवद्धता गर्दै आन्दोलन रोक्न आग्रह गर्यो । तर गृह मन्त्रालय त्यतिबेला बोलेअनुसार काम नगरेकाले पुन आन्दोलन गर्नुपर्ने अवस्था आएको समितिले उल्लेख गरेको छ ।
प्रतिक्रिया