सार्वजनिक स्थलमा फोहोर वर्गीकरण बिन सेट राख्दै काठमाडौं महानगर

सार्वजनिक स्थलमा फोहोर वर्गीकरण बिन सेट राख्दै काठमाडौं महानगर


काठमाडौं –काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ । महानगरपालिकाले राख्न लागेको एउटा सेटमा २ वटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोर संकलनका लागि राख्न लागिएको हो ।

यसरी राख्न लागिएको सेटहरु सानो र मध्यम गरी दुई प्रकारका छन् ।पहिलो सेट सानो भएकाले यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १ दशमलव २ मिटर उचाइ, १ दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्याण्डको मुल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मुल्य २ हजार ९५० रुपैयाँ हो । यस्ता बिन ३ सय सेट राखिनेछन् ।

मध्यम आकारका सेटमा १ दशमलव ३ मिटर चौडाइ र १ दशमलव ४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ । १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन । यसमा प्रयोग हुने स्ट्याण्डको मुल्य ५ हजार ४५० रुपैयाँ र बिनको मुल्य ३ हजार ८९० रुपैयाँ हो ।

यी सेटहरु वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरुको जिम्मामा राखिनेछ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुन्छ । बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुने महानगरले जनाएको छ ।