काठमाडौं –निर्माणसँग सम्बन्धित नेपाल विल्डकन प्रदर्शनी काठमाडौंमा मात्रै सिमित नभइ सातै प्रदेशमा गर्न आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् ।नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता जनाएका निर्माण सम्बन्धि व्यवसायीहले यस्तो माग गरेका हुन् । उनीहरुले काठमाडौंको भृकुटीमण्डममा माघ १८ गतेदेखि शुरु भएको ४ दिने मेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता देखिएकाले काठमाडौं भन्दा बाहिर पनि प्रदर्शनी गर्न आवश्यक रहेको बताए ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीको आज अन्तिम दिन हो । मेलामा व्यवसायीहरुले विगतका वर्षहरुमा भन्दा यस वर्षको मेलामा पहाडी जिल्लाका अवलोकनकर्ताहरु समेतले अवलोकन गरेको व्यवसायीहरुले बताए । एसियन पेन्सका मार्केटिङ म्यानेजर रविन रेग्मीले पछिल्लो समय नयाँ–नयाँ टेक्नोलोजी विकास भएकाले अहिलेको उपभोक्ताहरु पनि त्यही टेक्नोलोजी खोजिरहेको बताए । साथै मार्केटिङ म्यानेजर रेग्मीले उपभोक्तालाई आवश्यक रहेको नयाँ टेक्नोलोजीहरु यस्तो प्रदर्शनीहरुमा अवलोकन गरेर हेर्न पाउने अवसर मिल्ने बताए।
उनले भने ‘मेला सार्थक भएको छ । मेलामा विभिन्न निर्माण क्षेत्रमा आवश्यक कम्पनीबाट उत्पादित वस्तुहरुको एकै छानामुनी अवलोकन गर्ने अवसर छ । निर्माण क्षेत्रको आगामी भविष्य कस्तो हुन्छ भन्ने कुरा देखिन्छ । यस्ता खालका प्रदर्शनीले कम्पनीहरुले उत्पादन गरेका बस्तुहरु प्रदर्शनी गर्ने राम्रो अवसर भएको छ । पछिल्लो समय दिनप्रतिदिन प्रविधि परिवर्तन भइरहेको छ । प्रदर्शनीमा अवलोकनकर्ताको आवश्यकताका आधारमा प्रदर्शनी गरिएको छ।’
अल्टवुडका मार्केटिङ म्यानेजर विवेक डंगोलले पनि यस्ता खालका मेलाहरु सातै प्रदेशमा हुन आवश्यक रहेको औल्याए । त्यस्तै हुलास स्टिलका मार्केटिङ म्यानेजर नरेश यादवले मेला सोचेको भन्दा राम्रो भएको बताए । उनले भने ,‘अल्टवुडका सामाग्री मुलुकभर माग रहेकाले यो मेलामा अवलोकन गर्न आउनेहरुको राम्रो भन्नुभयो । उहाँहरुले अल्टवुडको पिभिसी,डब्लुपिसी दुवै मन पराएको अहिलको सबैको आवश्यकता बनेको प्रदर्शनीमा अवलोकनकर्ताहरुले दिएको प्रतिक्रियाबाट थाहा भयो । अल्टवुड काठमाडौंमा मात्रै नभएर देशभरका सहरहरुमा उपलब्ध रहेको छ । सातै प्रदेशमा माग रहेकाले यस्ता खालका प्रदर्शनीहरु गर्न आवश्यक छ ।’
मिडिया स्पेस सोलुसन्सका कार्यकारी निर्देशक सिर्जल भट्टराईले मेला सोचेको भन्दा राम्रो भएको बताए । उनले मेलामा निर्माण व्यवसायी,निजी क्षेत्र,सर्वसाधरणहरुले अवलोकन गरेको भनाइ राखे। निमार्ण मेलामा निमार्ण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउने काममा सार्थकता पाएको आयोजकले बताएको छ । (न्युज एजेन्सी नेपाल)



About Us
प्रतिक्रिया