४३ करोडको आईपीओ निष्कासनको तयारीमा अन्नपूर्ण केबलकार, कस्तो छ वित्तीय अवस्था ?


काठमाडौं – पोखराको पर्यटकीय गन्तव्य सराङकोटमा केबलकार सञ्चालन गरिरहेको अन्नपूर्ण केबलकारले ४३ करोड ४० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। तर, आईपीओ निष्कासनको प्रक्रियामा रहेको कम्पनीको वित्तीय अवस्था अझै घाटामा छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार कम्पनीको खुद नोक्सानी ७ करोड ५३ लाख रुपैयाँ छ। यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको घाटा घटेको छ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नोक्सानी ११ करोड ७४ लाख रुपैयाँ थियो। एक वर्षमा कम्पनीको घाटा ४ करोड २१ लाख रुपैयाँले घटेको देखिन्छ। यसले कम्पनीको वित्तीय अवस्थामा केही सुधार आएको संकेत गर्छ। कम्पनीको सञ्चालन आम्दानीमा भने सामान्य वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ८ करोड ६ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको कुल नाफा पनि सामान्य बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ६ करोड ६९ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो नाफा ६ करोड ६८ लाख रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) अझै ऋणात्मक छ। आर्थिक वर्ष २०८०/८१ मा प्रतिशेयर ९ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको ईपीएस आर्थिक वर्ष २०८१/८२ मा घटेर ४ रुपैयाँ ७६ पैसा ऋणात्मकमा झरेको छ। घाटा घटेसँगै ईपीएसमा पनि सुधार देखिएको हो।

कम्पनीको कुल सम्पत्ति भने बढेको छ। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कम्पनीसँग २ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ बराबरको कुल सम्पत्ति रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो सम्पत्ति २ अर्ब २३ करोड ९६ लाख रुपैयाँ थियो। त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन नाफा ४ करोड ३६ लाख ६८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ करोड ७२ लाख ८६ हजार रुपैयाँ मात्रै थियो।

कम्पनीको प्रत्यक्ष खर्च भने घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा यस्तो खर्च ६ करोड ३९ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको प्रत्यक्ष खर्च ६ करोड ६८ लाख रुपैयाँ थियो। सञ्चालन आम्दानीमा सामान्य वृद्धि र प्रत्यक्ष खर्चमा आएको कमीले कम्पनीको सञ्चालन नाफा बढाउन सहयोग गरेको देखिन्छ।

४३ करोड ४० लाखको आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
अन्नपूर्ण केबलकारले ४३ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ४० हजार कित्ता शेयर निष्कासनको अनुमति मागेको हो। कम्पनीले २०८० पुस १६ गते आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो। शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पाएको छ।

मुक्तिनाथ क्यापिटलले अन्नपूर्ण केबलकारसहित १२ कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्ध गरिरहेको छ। ती कम्पनीमा मध्यपुर अस्पताल, प्रभु हेलिकप्टर, कैलाश हेलिकप्टर सर्भिसेज, ह्याम्स अस्पताल, इन्द्रेणी मसरुम फार्म, दूध पोखरी चेपे हाइड्रोपावर, ह्याबिट्याट पावर कम्पनी, मादमे खोला हाइड्रोपावर, लोअर इखुवा खोला हाइड्रोपावर, एशियन होटल, टेनेक्स हाइड्रो होल्डिङ र बैदिक इन्भेस्टमेन्ट कम्पनी छन्। सेबोनले गत कात्तिक ११ गते आईपीओ निष्कासनको अनुमति पर्खिरहेका ११७ कम्पनीलाई छ चरणमा वर्गीकरण गरेको थियो। बोर्डको वर्गीकरणअनुसार अन्नपूर्ण केबलकार पाँचौँ चरणमा परेको छ । उक्त चरणमा अन्नपूर्ण केबलकारसहित अन्य १० कम्पनी छन्।

पोखराको पर्यटनसँग जोडिएको केबलकार व्यवसाय
अन्नपूर्ण केबलकार पोखराको सेदीबगरदेखि सराङकोटसम्म सञ्चालन हुने पर्यटकीय केबलकार परियोजना हो। पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यो केबलकार २०७८ फागुन ६ गतेदेखि सफ्ट ओपनिङसहित व्यावसायिक सञ्चालनमा आएको थियो। केबलकार पोखरा महानगरपालिका–१८ को सेदीबगरमा निर्माण गरिएको हो।

कम्पनी २०६६ चैत २६ गते कम्पनी ऐनअन्तर्गत निजी लिमिटेड कम्पनीका रूपमा स्थापना भएको थियो। कम्पनीको दर्ता नम्बर ७११८३/६६/०६७ रहेको छ। कम्पनी ऐन, २०६३ को दफा १३ को उपदफा (१) बमोजिम २०८० जेठ ८ गते निजी लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। कास्कीको सेदीदेखि सराङकोटसम्म केबलकार सञ्चालन गर्नु कम्पनीको मुख्य उद्देश्य हो। पोखराको पर्यटनमा महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको यस परियोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई सराङकोटसम्म पुग्न सहज बनाउँदै आएको छ।

सञ्चालक समितिमा को–को छन् ?
अन्नपूर्ण केबलकारको सञ्चालक समितिमा पाँचजना छन्। कम्पनीको अध्यक्षमा कालु गुरुङ छन्। सञ्चालकहरूमा आजाद श्रेष्ठ, चन्द्रबहादुर कार्की र साहाना वाटाजु छन्। त्यस्तै, निहाल श्रेष्ठ स्वतन्त्र सञ्चालकका रूपमा छन्। आईपीओ निष्कासनको तयारी गरिरहेको कम्पनीको वित्तीय विवरणमा घाटा घट्दै गएको, सञ्चालन नाफा बढेको र कुल सम्पत्ति विस्तार भएको देखिन्छ। तर, खुद नोक्सानी र ऋणात्मक ईपीएस कायम रहेकाले कम्पनीले आगामी दिनमा सञ्चालन आम्दानी बढाएर नाफामा पुग्न सक्ने क्षमता कति विकास गर्छ भन्ने विषय लगानीकर्ताका लागि महत्त्वपूर्ण हुनेछ।