चार महिनामा एक लाख १२ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए


मुस्ताङ – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म भित्रिने कुल पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार उक्त अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै भित्रिएका नेपाली पर्यटकमध्ये ४३ हजार ५८४ पुरुष र १४ हजार २४७ महिला छन्। यस्तै, विदेशी पर्यटकमध्ये ३७ हजार ४१७ पुरुष, १६ हजार ७९३ महिला र सात जना अन्य रहेका छन्। पहिलो चौमासिकको तथ्याङ्कअनुसार विदेशीको तुलनामा नेपाली पर्यटकको सङ्ख्या तीन हजार ६१४ अर्थात् ६ दशमलव २४ प्रतिशतले बढी रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए।

घाँसा प्रहरी चौकीको अभिलेखअनुसार साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८, असोजमा १९ हजार ५३९ र कात्तिकमा ४१ हजार ७०७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। दशैँ, तिहार र छठ पर्वको लामो बिदाका कारण कात्तिक महिनामा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको हो। यसअघि असोजमा भारी वर्षाका कारण बेनी–जोमसोम सडक दुई साताभन्दा बढी समय अवरुद्ध हुँदा पर्यटक आगमनमा कमी आएको प्रहरी निरीक्षक बस्यालले बताए।

यसैगरी, पहिलो चौमासिकको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६९ हजार ७४६ सवारीसाधन मुस्ताङ भित्रिएका छन्। प्रहरीको तथ्याङ्कअनुसार साउनमा ४१ हजार ७४७, भदौमा सात हजार ९८२, असोजमा चार हजार ९७३ र कात्तिकमा १५ हजार ४४ सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए। यसअघि आर्थिक वर्ष २०८२/८३ मा बेनी–जोमसोम सडकमार्ग हुँदै सात लाख ७७ हजार ७३७ स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए।