पोखराको सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ


काटमाडौं – कास्की प्रहरीले पोखरास्थित एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा ग्रिसकी ६६ वर्षीया महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिपी स्टेफानौ रहेकी छिन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  पोखरा महानगरपालिका–२, मोहरिया टोलस्थित यसोदा ज्वेलर्सबाट तिलहरी चोरी भएको सूचना प्राप्त भएको थियो।उक्त घटनाबारे प्राप्त सूचनाका आधारमा प्रहरीले पसलमा जडान गरिएको सीसीटीभी फुटेजको अध्ययन तथा अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा प्रहरीले मंसिर १ गते साँझ करिब ५ बजे पोखरा महानगरपालिका–४, गैह्रापाटनस्थित पन्थी गल्लीबाट उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले महिलाले बोकेको झोलाबाट रातो पोतेसहितको एक थान तिलहरी बरामद गरेको जनाएको छ। उनलाई चोरीसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको  प्रहरीले जनाएको छ।