आशुतोष इनर्जीको आईपीओमा मंसिर १४ गतेदेखि आवेदन दिन सकिने


काठमाडौं – आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सो शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सो शेयर निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँ बराबरको २० प्रतिशत अर्थात् १०० रुपैयाँ अकिंत दरका १२ लाख कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

सोमध्ये ६ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ३ लाख कित्ता शेयर अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको हाल दुधपोखरी गाउँपालिका वडा नं. १ र २ तथा गोरखा जिल्लाको हाल अजरिकोट गाउँपालिका वडा नं.२ र ३ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ३ लाख कित्ता शेयर अतिप्रभावित क्षेत्र बाहेकको दुधपोखरी गाउँलिका एवं दोर्दी गाउँपालिका तथा अजरिकोट गाउँपालिकाका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

साथै, कम्पनीले सर्वसाधारणमा निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ६० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा मंसिर २८ गते हुनेछ भने ढिलोमा पुस १४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने मंसिर १७ गतेभित्र आवेदन दिनु पर्नेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि मंसिर २८ गतेसम्म लम्बिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।