काठमाडौं – एसियन क्लियरिङ युनियन (एसीयू) को सन् २०२६/२७ का लागि अध्यक्षता नेपाल राष्ट्र बैंकले पाएको छ। राष्ट्र बैंकको आयोजनामा काठमाडौंमा सम्पन्न एसीयूको सञ्चालक समितिको ५४औँ बैठकले अध्यक्षता नेपाललाई हस्तान्तरण गरेको हो।
नोभेम्बर १७ मा स्थायी प्राविधिक समितिको बैठक र नोभेम्बर १८ मा सञ्चालक समितिको बैठक सम्पन्न भएको थियो। बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नरसहित सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा एसीयू सचिवालयका प्रतिनिधिहरू सहभागी थिए।
अध्यक्षता ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले एसीयूको उद्देश्यप्रति नेपाल प्रतिबद्ध रहेको बताए। सदस्य राष्ट्रहरूबीच आफ्नै मुद्रा प्रयोग गरेर भुक्तानी गर्ने अवधारणाले बाह्य क्षेत्रको स्थायित्व सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो। एसीयूको दुई-दुई महिनामा हुने खुद भुक्तानी फर्छ्योट प्रणालीले सदस्य राष्ट्रहरूलाई भुक्तानीका क्रममा आउन सक्ने कठिनाइबाट जोगाउन सुरक्षा कवचको काम गर्ने उनले विश्वास व्यक्त गरे।
बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले निर्बाध र प्रभावकारी सीमापार भुक्तानी तथा फर्छ्योटका लागि एसीयूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले संस्थागत सुदृढीकरण र कार्यसम्पादनलाई निरन्तरता दिन सदस्यता विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
बैठकले एसीयू महासचिवको प्रतिवेदन ग्रहण गर्नुका साथै नोभेम्बर १७ मा सम्पन्न स्थायी प्राविधिक समितिका सिफारिस अनुमोदन गरेको थियो सदस्य राष्ट्रका सञ्चालक, वैकल्पिक सञ्चालक तथा पर्यवेक्षकहरूले आ-आफ्नो देशको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा ‘डिजिटल अर्थतन्त्र र सीमापार क्षेत्रीय सहकार्यको मार्गचित्र’ विषयमा समेत छलफल भएको राष्ट्र बैंकले जनाएको छ।
बैठकले सन् २०२७/२८ का लागि एसीयूको अध्यक्षमा सेन्ट्रल बैंक अफ म्यानमार र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ। समितिको आगामी बैठक सन् २०२७ जुनमा म्यानमारको नेपिडोमा आयोजना गर्ने निर्णयसमेत भएको छ।बैठकको समापन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेलले गरेका थिए।
समापनपछि आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसीयूले पाँच दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गरे। उनले विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट सिर्जित चुनौती सामना गर्न संस्थागत पारदर्शिता र आपसी विश्वास आवश्यक रहेको बताए।
सन् १९७४ मा स्थापना भएको एसीयूको सचिवालय इरानको तेहरानमा छ। अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यले स्थापना भएको यस युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलङ्काका केन्द्रीय बैंक आबद्ध छन्।





About Us
प्रतिक्रिया