काठमाडौं – शेयर बजारमा पछिल्लो समय सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिन थालेको छ। बजारमा संस्थागत लगानीकर्ताको सक्रियता बढेसँगै मार्जिन ट्रेडिङ विस्तार भएर आधारभूत रूपमा सबल कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्न थालेपछि कारोबार रकममा वृद्धि भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार पछिल्लो १० कारोबार दिनमा नेप्से परिसूचक समग्रमा ६२ अंकले बढेको छ। यस अवधिमा असोज २२ गतेदेखि कात्तिक १६ गतेसम्म झन्डै ६७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजार बढेसँगै कारोबार रकम र बजार पुँजीकरण दुवैमा सुधार आएको छ।
दसैंअघि लगातार पाँच कारोबार दिन गति लिएको बजारले दसैंपछि पनि त्यसलाई निरन्तरता दिएको नेप्सेको तथ्यांकले देखाउँछ। कात्तिक १३ र १६ गते बजार घटे पनि पछिल्लो १० कारोबार दिनको समग्र अवस्था सकारात्मक देखिएको छ। असोज २२ गतेदेखि उकालो लाग्न थालेको बजारले असोज २६ गते २५ सय अंकको मनोवैज्ञानिक विन्दु पार गर्दै २६ सयको लय समातेको थियो। कात्तिक १६ गतेसम्म पनि बजार यही विन्दुको आसपास कायम छ। गत भदौ १५ गते २५ सय १२ अंकको न्यून विन्दुमा झरेको बजार त्यसयता करिब १४५ अंकले बढेको छ।
सूचकमा आएको सुधारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। गत भदौ र असोजमा दैनिक औसत तीन अर्ब रुपैयाँ हाराहारीमा सीमित कारोबार अहिले पाँचदेखि नौ अर्ब रुपैयाँसम्म पुग्न थालेको छ। कात्तिक १३ गते कारोबार रकम पछिल्लो ६ महिनायताकै उच्च विन्दुमा पुगेको थियो। त्यसअघि गत वैशाख ३ गते नौ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। बजारको वृद्धिसँगै बजार पुँजीकरणसमेत बढेको छ। गत असोज २६ गते ४४ खर्ब ७२ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण कात्तिक १३ गतेसम्म ४६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। यो पछिल्लो तीन महिनायताकै उच्च हो।
मार्जिन ट्रेडिङले बढायो कारोबारको भोल्युम
शेयर बजारमा कारोबार रकम बढ्नुको एउटा प्रमुख कारण मार्जिन ट्रेडिङको विस्तारलाई मानिएको छ। यसअघि दैनिक तीन अर्ब रुपैयाँ हाराहारीमा कारोबार हुने बजारमा अहिले नौ अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको छ। बजार बढ्दा वा घट्दा दुवै अवस्थामा कारोबार रकम उल्लेख्य रहनुले पनि बजारमा किनबेचको गतिविधि बढेको हो।
शेयर लगानीकर्ता तिलक कोइरालाका अनुसार पछिल्लो समय मार्जिन ट्रेडिङका कारण बजारमा दोहोरो कारोबार बढेको छ। ब्रोकरमार्फत उपलब्ध हुन थालेको मार्जिन कारोबार सुविधाले लगानीकर्तालाई छोटो अवधिमै शेयर खरिदबिक्री गर्ने अवसर छ। उनका अनुसार मार्जिन कारोबारमा लगानीकर्ताले थोरै नाफा हुँदा पनि शेयर बिक्री गर्ने प्रवृत्ति देखिएको छ। एउटै शेयर एकै दिन किनबेच हुँदा कारोबारको संख्या र रकम दुवै बढ्ने गरेको छ ।
कोइरालाले भने, ‘ब्रोकरहरूमा अहिले मार्जिन ट्रेडिङ नामक नयाँ उपकरण आएको छ। मार्जिन कारोबारमा लगानीकर्ताले दुई रुपैयाँ नाफा भयो भने पनि शेयर बेच्ने गरेका छन् । यसरी शेयर एकै दिन बेच्ने र एकै दिन किन्ने गर्दा दोहोरो कारोबार हुन्छ। त्यसले बजारको कारोबार रकम बढाएको हो।’ उनका अनुसार कारोबार रकम बढ्नुको अर्को कारण आधारभूत रूपमा सबल कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्नु पनि हो । मार्जिन ट्रेडिङमा यस्ता कम्पनीको कारोबार बढी हुनुका साथै संस्थागत लगानीकर्ताले समेत फन्डामेन्टल रूपमा बलिया कम्पनीलाई प्राथमिकता दिने गरेका छन् । त्यस्ता कम्पनीले लाभांशसमेत वितरण गर्न थालेपछि लगानीकर्ताको आकर्षण थप बढेको उनको भनाइ छ।
नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्याल पनि पछिल्लो समय कारोबार रकम बढ्नुमा मार्जिन ट्रेडिङको भूमिका रहेको बताउँछन्। उनका अनुसार बजारमा बिस्तारै मार्जिन कारोबारका विभिन्न प्रोडक्ट सक्रिय हुँदै गएका छन्। ‘शेयर बजारमा बिस्तारै मार्जिनका प्रोडक्टहरू सक्रिय हुँदै गइरहेका छन्। ब्रोकरमार्फत मार्जिन कारोबार भइरहेको छ। ब्रोकर मार्जिन लेन्डिङले पनि अहिलेको शेयर कारोबार बढाउन भूमिका खेलेको हो,’ पौड्यालले भने। यसरी पछिल्लो समय मार्जिन कारोबारको विस्तार र संस्थागत लगानीकर्ताको सक्रियताले बजारमा शेयर किनबेचको चक्रलाई तीव्र बनाएको देखिन्छ। यद्यपि, कारोबार रकम बढ्नु मात्रै बजारमा दीर्घकालीन लगानी र स्थायित्व बढेको संकेत भने होइन। कारोबारको प्रकृति, लगानीकर्ताको सहभागिता र कम्पनीको वित्तीय अवस्थाले बजारको आगामी दिशा निर्धारण गर्नेछ।
कुन क्षेत्र बढ्यो, कुन क्षेत्र घट्यो ?
दसैंपछि खुलेको शेयर बजारमा देखिएको उत्साहले नेप्सेमा सूचीकृत १३ वटै समूहका उपसूचकमा सकारात्मक प्रभाव पारेको छ। कात्तिक ९ देखि १३ गतेसम्मको अवधिमा अधिकांश उपसूचक बढेका छन्। यसले बजारको वृद्धि कुनै एउटा क्षेत्रमा मात्र सीमित नभई विभिन्न क्षेत्रमा फैलिएको देखाउँछ।
यस अवधिमा सबैभन्दा बढी होटल तथा पर्यटन क्षेत्रको उपसूचक बढेको छ । यो क्षेत्रको सूचक १४९ अंकले बढेर सात हजार ६२ दशमलव ९ विन्दुमा पुगेको छ । पर्यटन गतिविधि र होटल व्यवसायप्रति लगानीकर्ताको चासो बढ्दा यस क्षेत्रका कम्पनीमा आकर्षण देखिएको हो ।
त्यस्तै, विकास बैंक क्षेत्रको उपसूचक १४३ अंकले बढेर पाँच हजार ६५४ दशमलव ७२ विन्दुमा पुगेको छ । जलविद्युत् क्षेत्रको उपसूचक पाँच कारोबार दिनमा १३५ अंकले बढेर तीन हजार ६९६ दशमलव ६८ विन्दुमा कायम भएको छ ।
जीवन बीमा क्षेत्रको उपसूचक १२७ अंकले बढेर १२ हजार ६६ दशमलव २३ विन्दुमा पुगेको छ। अन्य समूहको उपसूचक ५७ अंकले बढेर एक हजार ८३३ दशमलव ४० विन्दुमा पुगेको छ। त्यसैगरी, वित्त क्षेत्रको उपसूचक ४९ अंकले बढेर दुई हजार २४८ दशमलव २३ विन्दुमा पुगेको छ । लघुवित्त क्षेत्र ४३ अंकले बढेर चार हजार ५५० दशमलव ८२ विन्दुमा कायम भएको छ। बैंकिङ्ग क्षेत्रको उपसूचक ३७ अंकले बढेर एक हजार ६११ दशमलव ७ विन्दुमा बन्द भएको छ। व्यापार समूहको उपसूचक २२ अंकले बढेर तीन हजार २०९ दशमलव ८५ विन्दुमा पुगेको छ।
निर्जीवन बिमा क्षेत्र १७ अंकले बढेर नौ हजार ५८९ दशमलव १८ विन्दुमा कायम भएको छ भने उत्पादन तथा प्रशोधन क्षेत्रको उपसूचक १४ अंकले बढेर १० हजार ७२९ दशमलव ८० विन्दुमा पुगेको छ। म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ३८ अंकले बढेको छ। त्यस्तै, लगानी समूहको उपसूचक एक अंकले बढेर ९५ दशमलव ७८ विन्दुमा पुगेको छ। यसरी दसैंपछिको बजारमा होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत् र जीवन बिमा क्षेत्रका कम्पनीमा तुलनात्मक रूपमा बढी आकर्षण देखिएको छ। १३ वटै उपसूचक सकारात्मक रहनुले बजारको पछिल्लो सुधार फराकिलो आधारमा अघि बढेको संकेत गरेको छ।





About Us
प्रतिक्रिया