भुक्तानीको प्रमाण पठाउँदा गोपनीयता जोखिममा, बैंकिङ्ग एपबाट स्क्रिनसट सुविधा हटाइँदै


काठमाडौं – मोबाइल बैंकिङ्गबाट पैसा पठाएपछि भुक्तानी सफल भएको प्रमाणका रूपमा स्क्रिनसट लिएर सम्बन्धित व्यक्तिलाई पठाउने चलन सामान्यजस्तै बनेको छ। सामान खरिद गर्दा होस् वा कसैलाई रकम पठाउँदा, कारोबार सम्पन्न भएको देखाउन धेरैले सबैभन्दा पहिले स्क्रिनसट लिने र अर्को व्यक्तिलाई पठाउने गर्छन्। तर, भुक्तानीको प्रमाणका रूपमा पठाइने यही स्क्रिनसटबाट ग्राहकका व्यक्तिगत तथा संवेदनशील बैंकिङ्ग विवरणसमेत बाहिरिने र ठगीमा दुरुपयोग हुने जोखिम बढेपछि बैंकहरूले मोबाइल बैंकिङ्ग एपबाट स्क्रिनसट र स्क्रिन सेयरिङको सुविधा हटाउन थालेका छन्।

मोबाइल बैंकिङ्गबाट रकम पठाएपछि लिइने एउटा स्क्रिनसटमा भुक्तानीको विवरण मात्रै हुँदैन। त्यसमा कारोबारको रकम, रिफरेन्स कोड, रकम पठाउने व्यक्तिको जानकारी तथा सम्पर्क नम्बरसहितका विवरणसमेत समावेश हुन सक्छन्। यस्ता विवरण अरूको पहुँचमा पुग्दा ग्राहकको गोपनीयता भङ्ग हुने मात्रै होइन, ठगी गर्नेहरूले ती जानकारीलाई दुरुपयोग गर्न सक्ने जोखिमसमेत रहन्छ।

यही जोखिमलाई मध्यनजर गर्दै अधिकांश बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा स्क्रिनसट तथा स्क्रिन सेयरिङ गर्न मिल्ने सुविधा हटाउन थालेका हुन्। ग्राहकको बैंकिङ्ग विवरण र वित्तीय जानकारीको सुरक्षा गर्ने उद्देश्यले बैंकहरूले यस्तो सुविधा निष्क्रिय बनाउन थालेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा ग्राहकका खातासम्बन्धी संवेदनशील विवरण दुरुपयोग हुन सक्ने भन्दै यस्तो सुविधा हटाउन बैंकहरूलाई आग्रह गरेको थियो। स्क्रिन सेयरिङमार्फत ठगी गर्ने व्यक्तिले ग्राहकको मोबाइलमा देखिने बैंकिङ्ग विवरण प्रत्यक्ष हेर्न सक्ने तथा स्क्रिनसट वा स्क्रिन रेकर्डिङबाट गोप्य जानकारी बाहिरिन सक्ने जोखिम रहेको ब्युरोको भनाइ छ।

ब्युरोले विभिन्न घटनाको अध्ययनका क्रममा मोबाइल बैंकिङ्गको स्क्रिनसट र स्क्रिन सेयरिङ सुविधाकै माध्यमबाट पनि ठगी हुने गरेको पाइएको जनाएको छ। यस्तो सुविधाको दुरुपयोगबाट ठगीमा पर्नेहरू बढ्दै गएको भन्दै ब्युरोले बैंकहरूलाई मोबाइल बैंकिङ्ग एपमा स्क्रिनसट तथा स्क्रिन रेकर्ड गर्न नमिल्ने व्यवस्था गर्न अनुरोध गरेको थियो। विशेष गरी स्क्रिन सेयरिङ गर्दा प्रयोगकर्ताको मोबाइलमा देखिएका विवरण अर्को व्यक्तिले प्रत्यक्ष हेर्न सक्छ। त्यस्तै, स्क्रिनसट वा स्क्रिन रेकर्डिङबाट पनि संवेदनशील जानकारी बाहिरिन सक्ने सम्भावना उत्तिकै रहन्छ। यही जोखिमलाई ध्यानमा राखेर मोबाइल बैंकिङ्ग एपमा स्क्रिनसट तथा स्क्रिन रेकर्डिङ गर्न नमिल्ने व्यवस्था लागू गर्न बैंकहरूलाई आग्रह गरिएको ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए।

उनका अनुसार स्क्रिनसट गर्दा भुक्तानीको विवरण मात्रै बाहिरिने होइन, त्यससँगै अन्य धेरै सूचना पनि जाने गरेका छन्। ती सूचना ठगी गर्ने व्यक्तिको हातमा पुगेपछि सहजै दुरुपयोग हुन सक्ने भएकाले सुरक्षित बैंकिङ्ग कारोबारलाई प्राथमिकता दिँदै मोबाइल बैंकिङ्गमा स्क्रिनसट लिन मिल्ने व्यवस्था हटाउन आग्रह गरिएको हो। मोबाइल बैंकिङ्गकाे सुरक्षाका लागि अन्य सफ्टवेयर तथा प्रणालीमा पनि सुधार गर्नुपर्ने धेरै पक्ष रहेको उनले बताए। मोबाइल बैंकिङ्गबाट भएको कारोबारको प्रमाणका रूपमा पठाइने स्क्रिनसटमा रिफरेन्स कोड स्वतः समावेश हुने गरेको छ। त्यस्तै, रकम पठाउने व्यक्तिको सम्पर्क नम्बरसहितका विवरणसमेत जाने गरेका छन्। यस्ता जानकारीका आधारमा ठगी गर्नेहरू ग्राहकसम्म सहजै पुग्न सक्ने प्रहरी अधिकारीहरूको भनाइ छ।

पछिल्लो समय साइबर ठगीका घटना बढ्दै गएपछि बैंकहरूले पनि यसको नियन्त्रण र जोखिम न्यूनीकरणमा चासो देखाउन थालेका छन्। मोबाइल बैंकिङ्ग प्रयोग गर्दा हुन सक्ने जोखिम कम गर्न बैंकहरूले यस्तो सुविधा बन्द गर्न थालेका हुन्। विशेषगरी, केवाईसी अपडेट गर्ने बहानामा ठगहरूले ग्राहकलाई स्क्रिन सेयरिङ तथा स्क्रिन रेकर्डिङ गर्न लगाएर ठगी गर्ने गरेको पाइएपछि ब्युरोले यस्तो व्यवस्था हटाउन आग्रह गरेको थियो। ब्युरोको आग्रहलाई मध्यनजर गर्दै बैंकहरूले पनि तत्कालका लागि यस्ता फिचर निष्क्रिय बनाउन थालेका हुन्।

डिजिटल बैंकिङ्ग कारोबारमा हुन सक्ने जोखिमबारे नेपाल राष्ट्र बैंकले पनि पटकपटक सूचना जारी गर्दै ग्राहकलाई सचेत गराउँदै आएको छ। राष्ट्र बैंकले डिजिटल बैंकिङ्ग कारोबार गर्दा ओटीपी, पिन र पासवर्डजस्ता गोप्य विवरण कसैसँग पनि साझा नगर्न आग्रह गर्दै आएको छ। हालसम्म कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकलगायतले आफ्नो मोबाइल बैंकिङ्ग एपमा स्क्रिन रेकर्डिङको सुविधा बन्द गर्न थालेका छन्। राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन रेग्मीका अनुसार बैंकले साइबर सुरक्षालाई विशेष ध्यानमा राखेर मोबाइल बैंकिङ्ग एपमा स्क्रिनसट लिन मिल्ने व्यवस्था हटाएको हो।

कारोबारको विवरण कसरी हेर्ने ?
बैंकहरूले मोबाइल बैंकिङ्ग एपमा स्क्रिनसट तथा स्क्रिन रेकर्डिङको सुविधा बन्द गर्न थालेपछि ग्राहकमा कारोबारको विवरण कसरी हेर्ने र भुक्तानीको प्रमाण कसरी उपलब्ध गराउने भन्ने चासो बढेको छ। मोबाइल बैंकिङ्गमार्फत रकम पठाएपछि कारोबार सफल भएको प्रमाणका रूपमा स्क्रिनसट पठाउने गरिए पनि अब यस्तो सुविधा बन्द हुन थालेपछि ग्राहकले वैकल्पिक माध्यमबाट कारोबारको विवरण हेर्न तथा भुक्तानीको पुष्टि गर्न सक्नेछन्।

ग्राहकले मोबाइल बैंकिङ्ग एपमा रहेको कारोबार हिस्ट्री तथा कारोबार डिटेल्समार्फत आफूले गरेका कारोबारको विवरण हेर्न सक्नेछन्। त्यसबाट कारोबार भएको रकम, मिति र कारोबारको अवस्था थाहा पाउन सकिन्छ। त्यस्तै, बैंक स्टेटमेन्टबाट पनि आफूले गरेका कारोबारको विवरण हेर्न सकिन्छ। यसका अतिरिक्त मोबाइलमा आउने एसएमएसबाट पनि कारोबारको जानकारी प्राप्त गर्न सकिन्छ। कतिपय बैंकले कारोबार भएपछि ग्राहकले बैंक खाता खोल्दा उपलब्ध गराएको इमेलमा समेत कारोबारको स्टेटमेन्ट पठाउने गरेका छन्। यसरी इमेलमा प्राप्त हुने विवरणबाट पनि भुक्तानी भएको पुष्टि गर्न सकिन्छ।