डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा दिनेश थकाली चयन


काठमाडौं – डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान)को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न एशोसिएसनको २१औं वार्षिक साधारण सभाले थकालीलाई अध्यक्ष चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष थकाली कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।

वित्तीय क्षेत्रमा लामो अनुभव सँगालेका चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकालीले बैंकिङ्ग क्षेत्रमा वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन्।

आगामी दुई वर्षका लागि अध्यक्ष बनेका थकालीसहित नौ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरिएको छ। सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ। यसअघि एसोसिएसनको कार्यवाहक अध्यक्ष रहेका थकाली सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारामान मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रबिन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं निर्विरोध चयन भएका छन्।