अमेरिकी डलर देखाई सस्तो दरमा साटिदिने प्रलोभनमा पारी ठगी गर्ने मोहनबहादुर तामाङ पक्राउ


काठमाडौं – अमेरिकी डलर सस्तो दरमा साटिदिने प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गर्दै आएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–धार्पा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–१, सरस्वती खेल बस्दै आएका २९ वर्षीय सुमन भन्ने मोहनबहादुर तामाङ रहेका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित एकान्त स्थानमा बोलाई अमेरिकी डलर देखाएर सस्तो दरमा साटिदिने भन्दै एक व्यक्तिबाट नेपाली नगद पाँच लाख रुपैयाँ ठगी गरी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी टोलीले अनुसन्धानका क्रममा प्रतिवादीलाई २०८३ कात्तिक ११ गते साँझ ६ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका–१, सरस्वती खेलबाट पक्राउ गरेको जनाएको छ। उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङ यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ परिसकेका व्यक्ति हुन्।

उनी २०७६ सालदेखि २०८० सालसम्म अभद्र व्यवहार तथा अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा पटक–पटक पक्राउ परेको अभिलेख रहेको छ। त्यस्तै, २०८० फागुन ६ गते कास्कीको वडा प्रहरी कार्यालय बैदाम, २०८१ साउन ११ र १८ गते इलाका प्रहरी कार्यालय बनेपा तथा २०८३ असोज २ गते जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा अमेरिकी डलर देखाई ठगी गरेको घटनामा उनी फरार रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट तामाङ र उनका साथीहरू मिलेर काठमाडौं उपत्यकासहित उपत्यकाबाहिरका विभिन्न स्थानमा पुग्ने गरेको खुलेको छ। उनीहरूले सर्वसाधारणलाई सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाई एकान्त स्थानमा बोलाउने र त्यहाँ लुटपाट तथा ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार तामाङ विभिन्न घटनामा संलग्न भई कुल ११ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ।