काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकहरुलाई दसैंअघि नै लाभांश वितरण गर्न आग्रह गरेका थिए। गभर्नरले विगतदेखि ने दसैंअघि नै लाभांश वितरण गर्न भनिरहँदा हालसम्म ९ बैंकले मात्रै लाभांश घोषणा गरेका छन्। पौडेलले अर्थतन्त्र चलायमान बनाउन छिटो लाभांश वितरणको नीति अघि सारेका थिए। अर्थतन्त्रलाई चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाकोतर्फबाट भूमिका खेल्ने लक्ष्यसहित पौडेलले छिटो लाभांश वितरण गर्नुपर्ने बताएका थिए। पौडेलको यस नीतिपछि अघिल्ला वर्षको तुलनामा बैंकहरुले दसैंअघि नै लाभांश दिने गरी अघि बढेका पनि छन्। तर, कतिपय बैंकले भने गभर्नरको आग्रहलाई बेवास्ता गर्दै पनि आइरहेका छन्।
सामान्यतया कुनै पनि कम्पनीले आर्थिक वर्ष सक्किएको ६ महिनामा साधारणसभा गरिसक्नुपर्ने प्रावधान छ। जसकारण पनि अधिकांश बैंकले हालसम्म लाभांश वितरणमा चासो नदेखाएको हुनसक्ने बैंकिङ्ग विज्ञहरू बताउँछन्। गभर्नर पौडेलले बैंकहरुलाई छिटो वार्षिक साधारण सभा आयोजना गरेर लाभांश बाँड्नुपर्ने बताउँदै नगद लाभांश बाँड्न प्रोत्साहन गरेको गर्दै आएका छन् । गभर्नर डा. पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई नगद लाभांश बाँड्न प्रोत्साहन गरेपछि नै बैंकहरुले यस वर्ष नगद लाभांशलाई जोड दिइरहेका छन्।
कुन बैंकले घोषणा गरे कति ?
हालसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा सिद्धार्थ बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन्। यी मध्ये केही बैंकहरुले वार्षिक साधारणसभाबाट लाभांश पारित गरिसकेका छन् भने कतिपय बैंकले साधारण सभाका लागि बुक क्लोजको मिति तय गरिसकेका छन्। गत आर्थिक वर्षको नाफाबाट नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकले शेयरधनीहरूलाई १५.८० प्रतिशत लाभांश दिने भएको हो। जसमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ। यस्तै, एभरेष्ट बैंकले हाल कायम चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर वितरण घोषणा गरेको छ।
यसैगरी, सानिमा बैंकले साधारण शेयरतर्फबाट १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। साथै, ग्लोबल आइएमई बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ। सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कुमारी बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको २.१० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
सिटिजन्स बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश रहेको छ। माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंककाअनुसार प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ । यस्तै, एनएमबि बैंकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ९ बैंकले लाभांश घोषणा गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत १९ वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा वाणिज्य बैंकहरूको लाभांश बाँड्न सक्ने क्षमता उच्च रहेको छ। गत वर्षको मुनाफाबाट ४ वटा बैंकले लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्।
सार्वजनिक विवरणअनुसार बैंकहरुको लाभांश वितरण क्षमता सरदरमा १५ प्रतिशत छ भने एक बैंकको लाभांश वितरण क्षमता ३८ प्रतिशत छ। सो अवधिमा ८ वटा वाणिज्य बैंकहरु आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल दिन सक्ने अवस्थामा छन्। हालसम्म लाभांश घोषणा गरेका ९ बैंकमध्ये अधिकांश बैंकले बोनस शेयरको तुलनामा नगद लाभांशमा जोड दिइरहेका छन। यसपटकदेखि बैंकहरुले छिमेकी मुलुकहरूको सिको सिक्दै बोनस शेयरलाई भन्दा नगद लाभांशलाई जोड दिएका छन् । छिमेकी मुलुक भारतका बैंक तथा वित्तीय संस्था अथवा अन्य कम्पनीहरूले पनि नगद लाभांश दिने गरेका छन्। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले सन्तुलन कायम गर्नलाई पनि बैंकहरुले नगद लाभांशलाई जोड दिइरहेको बताए। ‘बोनस शेयर दिँदा चुक्ता पुँजीको आकार बढ्दै जान्छ चुक्ता पुँजीको आकार जति बढ्छ, त्यो अनुरूप आउँदो वर्षहरूमा नाफाबाट दिने प्रतिशत चाहिँ कम हुँदै जान्छ’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘लगानीकर्तालाई पनि सधैँ बोनस दिन सक्ने चाहिँ त्यो अवस्था रहँदैन जसकारण यसमा सन्तुलन कायम गर्न पनि नगदलाई जोड दिएका हौँ।’
लाभांश घोषणा नगरेका बैंकको क्षमता कति ?
हालसम्म लाभांश क्षमता भएका तर लाभांश वितरण नगरेका बैंकहरुमा लक्ष्मी सन्राइज बैंक, स्यान्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, कृषि विकास बैंक र नेपाल एसबीआई बैंक रहेका छन्। लाभांश दिनसक्ने अवस्थामा रहेको बैंकमध्ये स्ट्यान्डर्ड चार्टड बैंकको लाभांश क्षमता १९.०३ प्रतिशत छ। त्यसैगरी, नेपाल बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत, नेपाल एसबीआई बैंकको ११.०४ प्रतिशत, प्राइम कमर्सियल बैंकको ९.१० प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७९ प्रतिशत, कृषि विकास बैंकको ६.५४ प्रतिशत रहेको छ।
लाभांश दिन नसक्ने अवस्थामा चार बैंक
हिमालयन बैंक, एनआइएमबी बैंक, प्रभु बैंक र एनआइसी एसिया बैंकको लाभांश क्षमता शून्य रहेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हिमालयन बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड नाफा आर्जन गरेपनि बैंकको वितरण योग्य नाफा भने ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ । जबकि, अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा बैंकको यस्तो नाफा ८ अर्ब ८५ लाखले ऋणात्मक थियो ।त्यस्तै, एनआइएमबी बैंकको वितरण योग्य नाफा ५ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको अघिल्लो आर्थिक वर्ष २ अर्ब ४५ करोडले ऋणात्मक थियो। त्यसैगरी, गत आर्थिक वर्षको अवधिमा प्रभु बैंकले २४ करोड रुपैयाँ घाटा ब्यहोरेको छ। यससँगै बैंकको वितरणयोग्य नाफा समेत ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक छ। साथै, एनआइसी एसिया बैंकले सो अवधिमा १८ करोड रुपैयाँ नाफा कमाए पनि वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ। गत आर्थिक वर्षमा बैंकको यस्तो नाफा १४ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ। यससँगै, यी ४ बैंकको आफ्ना लाभांश बाँड्न सक्ने क्षमता शून्य रहेको छ।






About Us
प्रतिक्रिया