काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारी राज्य संयन्त्रको दुरुपयोग गरेर गरिएको बताएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा राप्रपा सांसद भरत गिरीले सरकारले राज्य आतङ्क सिर्जना गरेको आरोप लगाए।
सांसद गिरीले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित पदमा बसेका व्यक्तिलाई कानुनी प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले मुलुकमा विधिको शासनको उपहास भएको बताए। ‘सरकारले पूर्वप्रधानन्यायाधीश जबरालाई जसरी मध्यरातमा घरबाटै अपहरण शैलीमा पक्राउ गर्यो, यो राज्य आतङ्कको बर्बर नमुना हो। यस्तो शैलीले लोकतन्त्र र मानव अधिकारको मर्ममाथि प्रहार गरेको छ,’ उनले भने।
सांसद गिरीले आफूहरू कानुनको शासन र विधिको शासनको पक्षमा रहेको तर सरकारले कानुनको नाममा ‘प्रतिशोध’ को राजनीति गरिरहेको बताए । ‘हामी कानुन मान्छौँ, तर कानुनको आडमा गरिने डार्क राजनीति हामीलाई स्वीकार्य छैन। राज्यले शक्ति प्रयोग गर्दा पारदर्शिता अपनाउनुपर्छ, तर यो सरकारले त पटक–पटक निरङ्कुश र स्वेच्छाचारी शैली अपनाइरहेको छ,’ उनले भने।
सांसद गिरीले यो सरकार गठन भएदेखि नै संवैधानिक अङ्गका प्रमुखहरू, पूर्वप्रधानमन्त्रीहरू र पूर्वपदाधिकारीहरूलाई लक्षित गरी निरन्तर यस्ता घटना दोहोरिरहेको बताए। उनले भने, ‘कहिले पूर्वप्रधानमन्त्री, कहिले पूर्वपदाधिकारी त कहिले पूर्वप्रधानन्यायाधीश राति सुतिरहेको बेला उठाउने र हतकडी लगाउने काम सरकारको नियमित कार्यतालिका जस्तै भएको छ। के यो लोकतान्त्रिक सरकारको काम हो।’






About Us
प्रतिक्रिया