‘बीभी’ नामक अनलाइन मल्टी–लेभल मार्केटिङ स्क्यामबारे ब्युरोको सचेतना 


काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले ‘बीभी नेपाल’ नामक अनलाइन मल्टी–लेभल मार्केटिङ (एमएलएम) स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ।

ब्युरोमा प्राप्त सूचना तथा गुनासोअनुसार ‘बीभी’ नामक अनलाइन प्लेटफर्ममा ‘क्याम्पस भेन्डिङ मेसिन सम्पत्ति व्यवस्थापन उत्पादन–११० दिन’ नामक लगानी योजना सञ्चालनमा रहेको पाइएको छ। उक्त योजनाले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइनमार्फत लगानी गर्न प्रेरित गरिरहेको जनाइएको छ।

साइबर ब्युरोले ‘बीभी’ लगायत अत्यधिक उच्च प्रतिफलको दाबी गर्ने कुनै पनि एप्लिकेसन, वेबसाइट वा अनलाइन योजनामा पैसा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता योजनासँग सम्बन्धित कुनै जानकारी, गतिविधि वा शङ्कास्पद कारोबारबारे थाहा भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गरी उजुरी दर्ता गर्नसमेत ब्युरोले अनुरोध गरेको छ।

सर्वसाधारणलाई आकर्षक प्रतिफलको प्रलोभनमा परी आफ्नो रकम तथा व्यक्तिगत विवरण जोखिममा नपार्न र कुनैपनि अनलाइन लगानी गर्नुअघि त्यसको विश्वसनीयता तथा कानुनी अवस्थाबारे आवश्यक जाँच गर्न आग्रह गरिएको छ।