काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनुवारले प्रहरीको निष्ठा र संस्थाको गरिमामाथि गरेको टिप्पणीप्रति प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले असन्तुष्टि व्यक्त गरेका छन्। बुधवार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले प्रहरी कर्मचारीको निष्ठा तथा संगठनको गरिमामा आँच आउने गरी गरिने टिप्पणीप्रति आपत्ति जनाएका हुन्।
उनले आफूलाई समितिको बैठकमा बोलाउँदा समेत सामान्य मर्यादा कायम नगरिएको गुनासो गरे। आफू र सङ्गठनमाथि हिलो छ्याप्ने काम भएको भन्दै आक्रोश व्यक्त गरेका कार्कीले आफ्नो तथा परिवारका बैंक खाता र फोन विवरणसमेत जाँच गर्न खुला चुनौती दिए। प्रहरीलाई गाली गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले ‘सेमिङ, ब्लेमिङ र गेमिङ’ आफूहरूलाई पनि आउने बताए। बिना प्रमाण जथाभावी आरोप लगाउँदा संसदीय तथा सामाजिक मर्यादाको समेत हुर्मत हुने उनको भनाइ थियो।
कार्कीले उजुरी परेका घटनामा अनुसन्धान हुनुपर्ने बताए। आरोप लगाउन सहज भए पनि त्यसको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक रहेको उनले स्पष्ट पारे। प्रहरीमा समेत विभिन्न समयमा ठगी, वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगीलगायतका उजुरी आउने गरेको उल्लेख गर्दै उनले प्रहरीले प्रारम्भिक अनुसन्धानपछि मात्रै कानुनी प्रक्रिया अघि बढाउने बताए। उनले भने, ‘प्रहरी सेवामा सम्मान प्राप्त होला भन्ने सोच्नु भूल हो। तर प्रहरी पनि नागरिक हो, नागरिकले पाउने जति मर्यादा त दिनुपर्ने हो।’ प्रहरीलाई ‘घिसार्छु’ भन्दै अभिव्यक्ति दिने व्यक्तिले प्रहरीमाथि शासन गर्न खोजिएको भन्दै उनले असन्तुष्टि जनाए।
उनले निर्वाचनका क्रममा समेत प्रहरीले सर्वसाधारण तथा अन्य पक्षबाट उपलब्ध गराइएका सवारीसाधन प्रयोग गर्नुपरेको बताए। प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराउन सके निर्वाचन अझ प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने उनको भनाइ थियो। जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका प्रहरीका परिवारलाई राहत तथा भरथेग हुने गरी सहयोग गर्ने विषय आफूहरूले उठाउँदा त्यसलाई समेत ‘३० लाख खाएको’ आरोप लगाइएको उनले गुनासो गरे।
गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि प्रहरी कर्मचारीले कठिन परिस्थितिमा काम गर्नुपरेको उल्लेख गर्दै कार्कीले कतिपय प्रहरी खाली खुट्टा र पर्याप्त पोसाकसमेत नहुँदा ड्युटीमा खटिएको बताए। प्रहरीका ब्यारेकको अवस्था पनि दयनीय रहेको उनले बताए।







About Us
प्रतिक्रिया