२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ


काठमाडौं – माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २९.०८ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.३१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १ अर्ब ३० करोड रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले बीमा दाबी वापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ। साथै कम्पनीको ब्याज खर्च २४ करोड ४३ लाखबाट घटेर २० करोड १९ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको देखिन्छ। कम्पनीको संचालन मुनाफा पनि ८९ करोड १८ लाखबाट बढेर १ अर्ब नाघेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रहेको छ भने रिजर्भमा १ अर्ब ५८ करोड रहेको छ। कम्पनीको चुक्ता पुँजीलाई आधार मान्दा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को नाफाबाट मात्र पनि २५ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको देखिन्छ। कम्पनीले मनाङमा अवस्थित ६५ मेगावाट क्षमताको दुधखोला आयोजना निर्माणको तयारी गरेको छ।

हालै मात्र आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। सो आयोजना निर्माणको लागि कम्पनीलाई नगद चाहिने भएकोले कम्पनीले लाभांशको रुपमा बोनस शेयर नै दिने आँकलन गरिएको छ। यस अघिका वर्षमा पनि कम्पनीले बोनस शेयरलाई नै जोड दिदै आएको थियो। कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार लाभांश दिदै आएको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३.७२ रुपैयाँबाट बढेर २५.५२ रुपैयाँ पुगेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत बोनस दिएर पुँजी थप गर्दा पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको प्रति शेयर आम्दानी कायम गर्न सफल भएको छ।  त्यस्तै कम्पनीको प्रति शेयर  नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ। कम्पनीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन्।