हाँडी बिरयानीका सह-संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा छनोट

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न


काठमाडौं – नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई व्यावसायिक ब्रान्डका रूपमा विकास गर्दै आएको हाँडी बिरयानी का सह–संस्थापक तथा जनसम्पर्क प्रमुख पोषण नेपाल अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित प्रतिष्ठित ‘अमेरिकी दूतावास उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमध्ये पर्न सफल भएका छन्।

काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरमा नेपालले हाँडी बिरयानीको ब्रान्ड विकास, सेवा प्रणाली, डिजिटल बजार रणनीति, कृत्रिम बुद्धिमत्तामा आधारित ग्राहक पहुँच तथा फ्रेन्चाइज मोडलमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय विस्तार गर्ने योजना प्रस्तुत गरेका थिए।

देशभरबाट कार्यक्रमका लागि ८०० भन्दा बढी आवेदन प्राप्त भएका थिए।  तीमध्ये सातै प्रदेश समेट्ने गरी नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय कार्यक्रमका लागि २०० भन्दा बढी उद्यमी छनोट गरी प्रशिक्षण प्रदान गरिएको थियो।

त्यसपछि व्यावसायिक सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, उद्यमीको प्रतिबद्धता तथा बजार सम्भावनालगायत आधारमा गरिएको अत्यन्त प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट केवल २० उद्यमी काठमाडौंमा आयोजित क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका हुन्।

हाँडी बिरयानी नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारमा विशेषज्ञता हासिल गरेको रेस्टुरेन्ट ब्रान्ड हो। रेस्टुरेन्टले मानकीकृत खाना पकाउने प्रक्रियामार्फत प्रत्येक ग्राहकलाई स्वाद र सेवामा एकरूप अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ। ग्राहक अनुभव, डाइन–इन सेवा तथा ब्रान्ड पहिचानमा केन्द्रित रणनीतिले प्रतिस्पर्धी भोजन बजारमा हाँडी बिरयानीलाई फरक स्थान बनाउन सहयोग गरेको छ।

कम्पनीको लक्ष्य परम्परागत स्वादलाई केवल रेस्टुरेन्ट अनुभवमा सीमित नराखी व्यवस्थित, विस्तारयोग्य र फ्रेन्चाइज गर्न सकिने खाद्य ब्रान्डका रूपमा विकास गर्नु हो।