काठमाडौं – प्रभु बैंकको कर्जा अपचलन प्रकरणमा पक्राउ पर्ने बैंकका पदाधिकारी, कर्मचारी तथा ऋणीहरूको संख्या १८ पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्जा अपचलनसँग सम्बन्धित अनुसन्धानका क्रममा हालसम्म १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए। उनका अनुसार प्रभु बैंकको कर्जा अपचलनसँग सम्बन्धित चार वटा बैंकिङ्ग कसुरका मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता भइसकेका छन्। यसमा प्रतिवादीको संख्या २९ छ। सीआईबीले प्रभु बैंकसँग सम्बन्धित कसुरको अनुसन्धान म्यानेजमेन्ट ग्रुपबाट सुरु गरेको थियो। बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनलाई २०८२ कात्तिकमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो भने मंसिर १४ गते बैंकका पूर्वसीईओ अशोक शेरचनसहित तीन जना पक्राउ परेका थिए।
अहिले सीआईबीले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि लिएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग प्रकरणको बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ। यस कसुरमा गत असार ३० गते शशिधर शर्मा पक्राउ परेका थिए। शर्मा पक्राउ परेको सोही बैंकिङ्ग कसुरमा उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति लिई बुधवार प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त, बुटवल शाखामा कार्यरत राजेन्द्र श्रेष्ठ तथा शाखा प्रबन्धकद्वय सन्तोष ज्ञवाली र शिशिर पौडेललाई सीआईबीले पक्राउ गरेको छ।

यससँगै प्रभु बैंक कर्जा अपचलन प्रकरणमा पक्राउ पर्नेको कुल संख्या १८ पुगेको हो। सीआईबीले यस प्रकरणमा पूर्व सीईओ अशोक शेरचन, प्रभु ग्रुपका सञ्चालक तथा बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचन, डिसीओ मणिराम पोखरेल, कर्पोरेट तथा परियोजना वित्त विभागका प्रमुख दिनेश डंगोल, रेमिट्यान्स डिपार्टमेन्ट प्रमुख सुगेन भन्ने सुजिन शाक्य, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रकाश पाण्डे, गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य र प्रभु म्यानेजमेन्टका पूर्व शेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजनलगायतलाई पक्राउ गरिसकेको छ।
पक्राउ पर्नेमध्ये अशोक शेरचन, देवीप्रकाश भट्टचन, मणिराम पोखरेल, दिनेश डंगोल, सुगेन भन्ने सुजिन शाक्य, रिवास श्रेष्ठ, रश्मी पन्त, राजेन्द्र श्रेष्ठ र सन्तोष ज्ञवाली प्रभु बैंकका तत्कालीन कर्मचारी नै हुन्। उनीहरूलाई एसियन भिलेज रिसोर्ट खरिदका लागि भन्दै कृषि, वन तथा पशु चिकित्सा विज्ञान संस्थान नामक कृत्रिम व्यवसाय खडा गरी प्रभु बैंकलाई हानि नोक्सानी पु¥याएको र सो अपराध लुकाउन विभिन्न कम्पनीका नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी दुरुपयोग गरेको अभियोगमा पक्राउ गरिएको सीआईबीले जनाएको छ। सीआईबीका प्रवक्ता जबराका अनुसार सरकारी वकिल कार्यालयमा दर्ता गरिएका बैंकिङ्ग कसुरका घटनाहरूमा एउटै व्यक्ति धेरै वटा कसुरमा प्रतिवादी छन्। अहिले अनुसन्धानरत ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि कर्जा स्वीकृत गर्दा बैंकको नाममा जग्गा दृष्टि बन्धक नगरी, पछि गर्ने भन्ने कबुलियतनामाका आधारमा कर्जा प्रवाह गरिएको देखिएको छ।
उक्त कर्जा रिसोर्ट निर्माणमा प्रयोग नगरी कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध रहेका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता भुक्तानी गर्न प्रयोग गरिएको प्रवक्ता जबराले बताए। यस बैंकिङ्ग कसुरमा हालसम्म पाँच जना पक्राउ परिसकेका छन्। त्यस्तै, सीआईबीले सुरुमा अनुसन्धान गरेको प्रभु म्यानेजमेन्टसम्बन्धी घटनामा अभियोगपत्र बुझाउने समयसम्म ३८ वटा मात्र उजुरी परेका थिए। तर, हालसम्म प्रभु म्यानेजमेन्टविरुद्ध जाहेरी दिनेको संख्या ३१६ पुगिसकेको सीआईबीले जनाएको छ।
प्रभु बैंक र प्रभु मनी ट्रान्सफरबीच नेपालमा भित्रिएको विप्रेषण भुक्तानीसम्बन्धी कारोबार, बैंकलाई पुर्याइएकाे हानिनोक्सानी र सो अपराध लुकाउन विभिन्न कम्पनीका नाममा करोडौँ कर्जा प्रवाह गरी दुरुपयोग गरिएको घटनामा पनि सीआईबीले अनुसन्धान गरिसकेको छ। पछिल्लो समय सीआईबीले कृत्रिम व्यवसाय खडा गरी कर्जा दुरुपयोग गरेको बैंकिङ्ग कसुरमा १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। यसमा ओमप्रकाश पाण्डे, अशोक शेरचन, मणिराम पोखरेल, रिवास श्रेष्ठ, रश्मी पन्त, हरिमान लामा, धनबहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेशकुमार तिवारी, हरिकृष्ण भट्टचन र देव ढुंगानालाई प्रतिवादी बनाई ५९ करोडभन्दा बढी कर्जा दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।







About Us
प्रतिक्रिया