राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दै एसबीआई बैंकका कर्मचारीमाथि ‘श्रम शोषण’, के होला कारबाही?


काठमाडौं – नेपाल एसबीआई बैंकले आफ्ना कर्मचारीलाई तोकिएको समयभन्दा धेरै काममा लगाएर श्रम शोषण गरेको आरोप लागेको छ । यदि यो आरोप प्रमाणित भएमा बैंकले केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको ठहरिनेछ ।

राष्ट्र बैंकले जारी गरेको नियमअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई जबरजस्ती ओभरटाइम काममा लगाउन पाउँदैनन् । कर्मचारीलाई प्रचलित कानुनअनुसार मात्रै काममा खटाउनुपर्ने स्पष्ट व्यवस्था छ। तर, एसबीआई बैंकले राष्ट्र बैंकको सोही निर्देशन पालना नगरेको कर्मचारीहरूको भनाई छ ।

राष्ट्र बैंकले कर्मचारीलाई जबरजस्ती काममा लगाउन नपाउने भन्दै अतिरिक्त कार्यालय समय सम्बन्धी सर्कुलर नै जारी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानुनअनुसार मात्रै काममा लगाउन भनेको छ । तर, नेपाल एसबीआईले राष्ट्र बैंकको निर्देशन विपरीत कर्मचारीलाई काममा लगाएको छ । बैंकिङ्ग समाचारसँगको कुराकानीमा बैंकको दमन खेपेका कर्मचारीहरूले बैंकको कमर्सियल शाखामा कार्यरत १३ जना कर्मचारीहरूले शाखा प्रबन्धकबाट मानसिक उत्पीडन भोगेको बताएका छन् । शाखा प्रबन्धकले उनीहरूलाई राती ११ बजेसम्म जबरजस्ती ओभरटाइममा खटाएको उनीहरूको भनाई छ । 

राष्ट्र बैंकले बैंकले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने बताउँदा एसबीआई बैंकले भने राति ११ बजेसम्म जबरजस्ती काममा लगाउने गरेको कर्मचारीको भनाई छ । बैंकका कर्मचारीहरूले आफूहरूमाथि भएको दमन विपरित बैंक कर्मचारी संघमा उजुरी दिएका छन् । बैंकको कुल कर्जा लगानीको करिब २५ प्रतिशत हिस्सा ओगट्ने र अर्बौँको निक्षेप एवं ऋण व्यवस्थापन गर्ने यस शाखाका १५ जना वर्तमान तथा पूर्व कर्मचारीहरूले शाखा प्रबन्धकको व्यवहार र कार्यशैलीविरुद्ध उनीहरूले उजुरी दिएका हुन् ।

यतिमात्र नभई बैंकको आफूहरूको कुरा नसुनेपछि दमनमा परेका कर्मचारीहरूले मानव अधिकार आयोगमा समेत उजुरी दिएका छन् । उनीहरूले कर्मचारीहरूलाई व्यवस्थापकबाट प्रतिशोधपूर्ण व्यवहार गरी मानव अधिकारको हनन गरेकोले आवश्यक कारबाहीका लागि आयोगमा उजुरी दिएका हुन् । 

राष्ट्र बैंकले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने बताएको छ । यद्यपी राष्ट्र बैंकले जबरजस्ती अतिरिक्त समय काममा लगाउने बैंकलाई के कस्तो कारबाही गर्ने भन्नेबारे भने स्पष्ट पारेको छैन । प्रायजसो केन्द्रीय बैंकले बैंकका कर्मचारीको गुनासो बढ्दा व्यवस्थापनलाई सचेत गराउने गरेको छ । 

कर्मचारी सेवा उपनियम अनुसार बैंकको आधिकारिक कार्य समय बिहान साढे ९ देखि बेलुका साढे ५ बजेसम्म तोकिएको छ । तर, शाखा प्रबन्धकले कर्मचारीहरूलाई निरन्तर रूपमा बेलुका ८ देखि १० बजे र कतिपय अवस्थामा राति ११ बजेभन्दा ढिलासम्म जबरजस्ती काममा खटाउने गरेको पाइएको छ । राष्ट्र बैंकको निर्देशन विपरीत यस्तो कार्य भएकोले नै पनि गम्भीर रूपमा हेर्ने केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् । उनीहरूले कुनैपनि वित्तीय संस्थाले नियामक निकायको निर्देशनलाई अनदेखा गरेर अझ भनौं अटेरी गर्दा त्यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।