‘अपरेशन सभ्यता’ अन्तर्गत तीन दिनमा ४४ जना पक्राउ, ८१ सवारी साधन नियन्त्रणमा


काठमाडौं – कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको ‘अपरेशन सभ्यता’ अभियानअन्तर्गत पछिल्लो तीन दिनमा ४४ जना पुरुषलाई नियन्त्रणमा लिएको छ। प्रहरीले सोही अवधिमा ८१ वटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट संयुक्त रूपमा सञ्चालन गरिएको अभियानअन्तर्गत कात्तिक २५, २६ र २७ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म लेकसाइड क्षेत्रमा निगरानी तथा चेकजाँच गरिएको थियो। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ४४ जनामध्ये मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८ जना, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६ जना, प्रहरीसँग झैझगडा तथा वादविवाद गर्ने ५ जना रहेका छन्।

त्यसैगरी, साथमा हतियार बोकेर हिँड्ने २ जना, झण्डीबुर्जा खेलाउने १ जना तथा महिला र बालिकामाथि दुर्व्यवहार गर्ने २ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैगरी, सवारी साधन चेकजाँचका क्रममा ८१ वटा सवारी साधनमाथि कारबाही गरिएको छ। तीमध्ये ५७ वटा सवारी साधनका चालकलाई मादक पदार्थ सेवन ९मापसे० सम्बन्धी कारबाही गरिएको, एउटा सवारी साधनलाई अन्य ट्राफिक नियम उल्लङ्घनमा जरिवाना गरिएको र २३ वटा सवारी साधनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अभियान सुरु भएयता हालसम्म १३४ जना पुरुष र ६ जना महिला गरी कुल १४० जना नियन्त्रणमा परेका छन्। यस अवधिमा २९३ वटा सवारी साधनमाथि समेत कारबाही गरिएको छ। लेकसाइड क्षेत्रमा झैझगडा, पर्यटकलाई अनावश्यक दुःख तथा हैरानी दिने, दुर्व्यवहार गर्ने र अन्य अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

Skip This