मानव अधिकार आयोग पुग्यो नेपाल एसबीआई बैंकको ‘श्रम शोषण’ प्रकरण

उजुरी परेपछि आयोगले भन्यो – संविधान बमोजिम ७ दिन भित्र सत्य तथ्य बुझाउनु


काठमाडौं – नेपाल एसबीआई बैंकको दमनमा परेका कर्मचारीले मानव अधिकार आयोग गुहारेका छन् । एसबीआई बैंकको दमनमा परेका कर्मचारीले मानव अधिकार आयोगमा मानव अधिकारको सम्मान र संरक्षण नभएको भन्दै उजुरी दिएका हुन् ।

नेपाल एसबीआई बैंकको कमर्सियल शाखामा कार्यरत १३ जना कर्मचारीले शाखा प्रबन्धकबाट मानसिक उत्पीडन, अपमानजनक व्यवहार भएको भन्दै आयोगमा उजुरी दिएका हुन् । राति ११ बजेसम्म जबरजस्ती तोकिएको समय भन्दा बढी काम ओभरटाइम’ गराइएको भन्दै कर्मचारीहरूले आयोगमा लिखित उजुरी दिएका हुन् । 

बैंकका कर्मचारीमाथि भएको दमनलाई आयोगले पनि गम्भीरतापूर्वक हेरेको छ । आयोगले नेपाल राष्ट्र बैंक र नेपाल एसबीआई बैंकसँग कर्मचारीमाथि भएको मानसिक उत्पीडन र जबरजस्ती ओभरटाइम सम्बन्धी उजुरीबारे सात दिनभित्र विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

‘नेपाल एसबीआई बैंकको कमर्सियल शाखामा कार्यरत १३ जना कर्मचारीहरूले शाखा प्रबन्धक  बाट भइरहेको मानसिक उत्पीडन अपमान तथा राती ११ बजेसम्म जबरजस्ती ओभरटाइममा खटाएको विषयमा लिखित उजुरी दर्ता गरेकोमा कुनै कारबाही नभएको, कर्मचारीहरूलाई व्यवस्थापकबाट प्रतिशोधपूर्ण व्यवहार गरी मानव अधिकारको हनन गरेकोले आवश्यक कारबाहीका लागि यस आयोगमा मानव अधिकारको सम्मान र संरक्षणका लागि उजुरी दर्ता हुन आएको छ’ आयोगद्वारा जारी सूचनामा भनिएको छ ।

आयोगले घटनाबारे के कस्तो भएको हो भन्ने सम्बन्धमा सम्पूर्ण विवरण पत्र प्राप्त भएको मितिले सात दिनभित्र उपलब्ध गराई अनुसन्धानमा सहयोग गर्न नेपाल राष्ट्र बैंक र नेपाल एसबीआई बैंकलाई अनुरोध गरेको छ ।