अनलाइन बैंकिङ्गबाट करोडौं ठगी, साइबर ठगी रोक्न बैंकहरुले देखाएनन् चासो


काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा नेपाल प्रहरीमा १०४ वटा साइबर ठगीका मुद्दा दायर भएको छ। प्रहरीले अनलाइन बैंकिङ्गको प्रयोगमार्फत पनि बढी ठगी हुने गरेको जनाएको छ। प्रहरीकाअनुसार अनलाइन बैंकिङ्ग तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग गर्दा सजगकता नअपनाउँदा बढी ठगीका मुद्धाहरू दायर हुने गरेका छन्। प्रहरीको तथ्यांकअनुसार १०४ वटा ठगीका मुद्दा दायर हुँदा अनलाइन बैंकिङ्ग ठगीका २१ वटा उजुरी दर्ता भएका छन्। यसबाट २ करोड ९३ लाख ६६ हजार ३ सय ७७ बराबरको रकम ठगी भएको देखिएको छ। यस्तै, इ–सेवा, फोनपे लगायतका डिजिटल भुक्तानी माध्यममार्फत हुने ठगीका २८ वटा उजुरी दर्ता भएका छन्। यसबाट २ करोड ३९ लाख ७२ हजार बराबरको आर्थिक क्षति भएको तथ्यांकमा उल्लेख छ।

नेपालमा डिजिटल बैंकिङ्ग तथा अनलाइन भुक्तानी प्रणालीको प्रयोग बढेसँगै साइबर ठगीका घटना पनि तीव्र रूपमा बढेका हुन्। तर, साइबर सुरक्षा सुदृढ बनाउन बैंक तथा वित्तीय संस्थाहरूले प्रभावकारी पहल नगरेको अरोप कतिपयको छ। बैंक तथा वित्तीय संस्थाले सिस्टम प्रर्याप्त काम नगरेको उनीहरूको भनाई छ। बैंकहरूले साइबर ठगी नियन्त्रणका लागि भनेर नै विभिन्न किसिमका जानकारी मूलक सूचना सार्वजनिक गर्दै आएपनि हालसम्म सबै ग्राहकलाई वित्तीय रुपले साक्षर बनाउन भने असफल भएको देखिन्छ। आफ्ना ग्राहकहरूलाई सचेत बनाउनु बैंकहरूको महत्वपूर्ण जिम्मेवारी पनि हो। तर, पछिल्लो समयमा बैंकरहरूले भने ग्राहकलाई दोषी देखाएर उम्किने गरेका छन्।

‘धेरैजसो वित्तीय ठगी जानकार हुँदाहुँदै पनि विविध लोभमा फस्दा हुने गरेको पाइन्छ’ एक वाणिज्य बैंकका उच्चपदस्त कर्मचारीले भने, ‘बैंकले सूचना दिँदादिँदै पनि लोभमा परेर ठगिन्छन् भने त्यस्तो अवथामा बैंकहरूलाई दोष लगाउन मिल्दैन।’ उनले बैंकहरूले डिजिटल पुर्वाधार तयार हुँदै जाँदा ठगीका घटनाहरू बढ्दै जाँदा बैंकहरू पनि त्यसतर्फ चनाखो बनिरहेको बताए। साइबर ठगी गर्नेहरू प्रविधिमा पोख्त बन्दै जाँदा पनि बैंकहरूलाई चुनौती थपिएको छ। ठगी गर्नेहले ठगी गर्ने क्रममा धेरै वटा बैंक खाता प्रयोग गर्दा अनुसन्धान समेत प्रभावित बन्दै गएको छ। डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा स्वभाविक रुपमा साइबर ठगीका घटनाहरू बढ्ने नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल बताउँछन्। बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको खाताबाट पैसा ठगी भइरहेको घटनालाई गम्भीरतापूर्वक हेर्ने गरेको बताउँछन्। बैंकहरूले सिस्टम बनाउन कुनै कसुर बाँकी नराख्ने उनको भनाइ छ।

साइबर ठगी कम गर्न निष्क्रिय खाता कम गर्दै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थामा भएका निष्क्रिय खाताले पनि साइबर ठगीमा सहयोग गरिरहेको राष्ट्र बैंकको निष्कर्श समेत छ। यसका लागि केन्द्रीय बैंकले केहीदिन अघिमात्रै एक सर्कुलर नै जारी गरेर निष्क्रिय खाता व्यवस्थापन गर्न निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाले आगामी पुस मसान्तसम्म निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना बनाएर काम गर्नुपर्नेछ। कुनै खाता निष्क्रिय हुनुअघि नै बैंकले सम्बन्धित ग्राहकलाई फोन, एसएमएस वा इमेलमार्फत सूचना दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यदि खाता निष्क्रिय भइसकेको छ भने पनि बैंकले हरेक ६ महिनामा कम्तीमा एक पटक ग्राहकसँग सम्पर्क गरी खाता पुनः सञ्चालन गर्न आग्रह गर्नुपर्ने उल्लेख छ।

नेपाल राष्ट्र बैंंकका कार्यकारी निर्देशक निश्चलराज अधिकारी नेपाल ग्रे लिस्टमा परेको सन्दर्भमा पनि नेपाल राष्ट्र बैंकले साइबर ठगीलाई गम्भीरतापूर्वक हेरेको बताउँछन्। ठगीमा परेकाहरूको खाता तत्काल ब्लक गर्ने काम राष्ट्र बैंकबाट हुने गरेको बताउँदै उनले समय समयमा विभिन्न कार्यक्रमहरू आयोजना गरेर साइबर ठगीका विषयमा जनतामा जनचेतना फैलाउने काम पनि केन्द्रीय बैंकले गर्दै आएको बताए। साइबर सुरक्षाकै विषयमा ‘टु फ्याक्टर अथेन्टिकेसन’ जस्ता उपायहरू अपनाउनुपर्छ भनेर निर्देशन नै जारी गरिएको उनको भनाई छ। यति हुँदाहुँदै पनि साइबर ठगीहरू भइरहेको र यसलाई पूर्ण रूपमा शून्यमा झार्न सकिने अवस्था नभएको बताउँछन्। ‘ठगेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने संयन्त्र नबनाएसम्म साइबर ठगी नियन्त्रणका काम अपुरो हुन्छन्,’ उनले भने, ‘त्यसैले हामी अब त्यो दिशामा अघि बढ्नुपर्छ।’

शंकास्पद कारोबार छुट्याउन सक्ने सफ्टवेयर
यता, बैंक तथा वित्तीय संस्थाले प्रविधिलाई अंगाल्दा पनि हालसम्म शंकास्पद कारोबार छुट्याउन सक्ने सफ्टवेयरको विकास गर्न सकेका छैनन्। जसका कारण पनि ठगीका घटनाहरू बढीरहेका छन्। जसका लागि बैंक तथा वित्तीय संसथाले गम्भीरता पूर्वक काम गर्नुपर्ने यस क्षेत्रका विज्ञहरूको भनाई छ। यता, राराल्याब्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरे एन्टी मनी लाउन्डरिङ्ग (एएमएल र सीएफटी) का सफ्टवेयर बनिसकेका छन्।

यस्तो सफ्टवेयर प्रोभाइडरहरु छन् भने ठूला बैंकहरुले प्रयोग समेत गरेको छन्। ‘कम्पनीहरुले कारोबारको संख्या, रकम, समय, पूरानो ट्रेन्ड, नियामकको सिमाहरुको आधारमा कारोबार अगाडी बढाउने वा रोक्ने भन्ने निर्णय गर्न सकिने टुल्सहरु प्रयोग गर्दै आएका छन्’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘शंकास्पद कारोबार छुट्याउन सक्ने सफ्टवेयरको विकास गर्न नसकिने भन्ने हुँदैन।’उनले दुई तरिकाबाट ट्रयाकिङ गर्नसकिने बताए। यसमा अफ द लाइन र अन द लाईन हुन्छ। अफ द लाइनमा कारोबार भइसकेपछि मात्रै विश्लेषण गर्न सकिन्छ भने कारोबार नै रोक्न सक्ने हुँदैन। यता, अन द लाइनमा कारोबारको प्रक्रिति हेरेपछि कारोबार अघि बढ्छ। हालपनि नेपालका केही बैंकहरुले भने यस्तो किसिमको प्रवृधि प्रयोग गर्दे आइरहेका छन्।