काठमाडौं – पछिल्लो समय भन्सार छली गरेर अवैध रूपमा सामान भित्र्याउने गतिविधि बढ्दो क्रममा छ। खुला सीमा, उच्च भन्सार दर तथा अवैध कारोबारमा संलग्न समूहहरूको सक्रियताका कारण पछिल्ला वर्षहरूमा भन्सार छलीका घटना बढेका हुन्। नेपाल प्रहरीले चालु आर्थिक वर्षको हालसम्म मात्रै २ अर्ब ४० करोड ७३ लाख ४६ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ। प्रहरीले विभिन्न नाका तथा देशका विभिन्न स्थानबाट अवैध सुनचाँदी, स्रोत नखुलेको रकम, हुन्डी कारोबार, अवैध विदेशी मुद्रा, अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन, अवैध काठ र अवैध पशुपक्षी नियन्त्रणमा लिएर उक्त रकम बराबरको सामान बरामद गरेको हो।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार भन्सार छलीका सामान नेपाल भित्रिन नदिन सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी कडा पारिएको छ। उनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउने, निगरानी बढाउने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा नियमित चेकजाँच सञ्चालन गर्ने कार्य भइरहेको बताए। भन्सार छली गरी सामान भित्र्याउने गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका प्रहरी इकाइहरूले पनि आफ्नो तहबाट आवश्यक जाँच तथा निगरानी गरिरहेका छन्। उनले भने, ‘भन्सार छली गरी सामान नेपाल भित्रिसकेको अवस्थामा त्यसको मुख्य जिम्मेवारी भन्सार प्रशासनको हुने भए पनि प्रहरीले प्राप्त सूचना वा शङ्काका आधारमा गैरकानुनी रूपमा ल्याइएका सामान नियन्त्रणमा लिने गरेको छ।’

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/७८ मा १ अर्ब ५७ करोड २९ लाख, आर्थिक वर्ष ०७८/७९ मा २ अर्ब २२ करोड ८७ लाख र आर्थिक वर्ष ०७९/८० मा २ अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको सामान बरामद भएको थियो।
यसैगरी आर्थिक वर्ष ०८०/८१ मा ३ अर्ब ४३ करोड २२ लाख, आर्थिक वर्ष ०८१/८२ मा ३ अर्ब ७८ करोड ८९ लाख र चालु आर्थिक वर्ष ०८२/८३ को हालसम्म २ अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद भइसकेको छ। यसरी विगत ६ वर्षको अवधिमा कुल १५ अर्ब ६१ करोड ४ लाख रुपैयाँ बराबरको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको देखिन्छ।
नियन्त्रणमा आएका समानमा सुनको उल्लेख्य बर्चस्व देखिन्छ। ६ वर्षको अवधिमा प्रहरीले कुल ३ अर्ब ८३ करोड २७ लाख रुपैयाँ बराबरको सुन बरामद गरेको छ। यस अन्तर्गत आर्थिक वर्ष ०७७/७८ मा २७ करोड ४ लाख, आर्थिक वर्ष ०७८/७९ मा ९७ करोड ४७ लाख, आर्थिक वर्ष ०७९/८० मा १७ करोड २० लाख, आर्थिक वर्ष ०८०/८१ मा ९० करोड ३५ लाख, आर्थिक वर्ष ०८१/८२ मा ९८ करोड २ लाख र चालु आर्थिक वर्ष ०८२/८३ को हालसम्म ५३ करोड १७ लाख रुपैयाँ बराबरको सुन बरामद भएको छ।
यसैगरी ६ वर्षको अवधिमा ८ करोड ९४ लाख रुपैयाँ बराबरको अवैध चाँदी बरामद भएको छ। चाँदीतर्फ आर्थिक वर्ष ०७७/७८ मा ७५ लाख २७ हजार, आर्थिक वर्ष ०७८/७९ मा १ करोड ५१ लाख ५७ हजार, आर्थिक वर्ष ०७९/८० मा १ करोड ५ लाख ८० हजार, आर्थिक वर्ष ०८०/८१ मा १ करोड ९७ लाख ७८ हजार ४८५, आर्थिक वर्ष ०८१/८२ मा २ करोड ६० लाख ४७ हजार र चालु आर्थिक वर्ष ०८२/८३ को हालसम्म १ करोड ३ लाख ६७ हजार रुपैयाँ बराबरको परिमाण रहेको छ ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म कुल ७७ करोड ७१ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको रकम समेत बरामद भएको छ। विवरण अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७ करोड २९ लाख २७ हजार, आर्थिक वर्ष ०७८/७९ मा ११ करोड ५४ लाख ४४ हजार, आर्थिक वर्ष २०७९/८० मा ५ करोड ५३ लाख ८७ हजार, आर्थिक वर्ष ०८०/८१ मा ७ करोड ४१ लाख ८० हजार, आर्थिक वर्ष ०८१/८२ मा ३१ करोड ३२ लाख ७१ हजार ६१० र चालु आर्थिक वर्ष ०८२/८३ को हालसम्म १४ करोड ५९ लाख २३ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको रकम नियन्त्रणमा लिइएको छ।
यसैगरी प्रहरीले आर्थिक वर्ष ०७७/७८ देखि हालसम्ममा भन्सार छली गरी भित्र्याइएको ३८ करोड ५५ लाख रुपैयाँ हुण्डी रकम, ४६ करोड ३७ लाख रुपैयाँ विदेशी मुद्रा, १६ करोड ४४ लाख रुपैयाँ बराबरको नदीजन्य पदार्थ उत्खनन, २४ करोड १२ लाख रुपैयाँ बराबरको काठ र १८ करोड ३९ लाख रुपैयाँ बराबरको पशुपक्षी बरामद गरेको छ।

भन्सार कार्यालय वा अन्य स्रोतबाट कुनै सूचना प्राप्त भएमा प्रहरीले सम्बन्धित सामान नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तथा अनुसन्धान प्रतिवेदनसहित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाउने व्यवस्था छ। प्रवक्ता काफ्लेले यस्ता घटनाको निगरानी र नियन्त्रणमा प्रहरीले विशेष प्राथमिकता दिएको उल्लेख गरे। भन्सार छलीका कारण राज्यले ठूलो मात्रामा राजस्व गुमाउनुका साथै वैधानिक रूपमा व्यापार गर्ने व्यवसायीहरू समेत प्रभावित हुने गरेका छन्। यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै घरेलु उद्योग र उत्पादनमा समेत नकारात्मक असर पार्ने सरोकारवालाहरू बताउँछन्।
प्रहरीले सीमा क्षेत्रमा निगरानी थप कडा बनाएको र अवैध कारोबारमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाएको जनाएको छ। साथै, यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायबिच समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाइने बताइएको छ। यद्यपि, बरामदको बढ्दो तथ्याङ्कले सुरक्षा निकायको सक्रियता देखाए पनि अर्को पक्षबाट अवैध कारोबारको जालो अझै फराकिलो रहेको सङ्केत गर्छ। त्यसैले भन्सार छली नियन्त्रणका लागि प्रहरी, भन्सार प्रशासन, स्थानीय तह तथा अन्य सम्बन्धित निकायहरूबीच अझ प्रभावकारी समन्वय र अनुगमन आवश्यक देखिएको छ।






About Us
प्रतिक्रिया