काठमाडौं – नेपालमा विद्युतीय चुरोट (भेप) को अवैध कारोबार र तस्करी तीव्र रूपमा बढ्दै गएको देखिएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा देशका विभिन्न सीमा नाका, विमानस्थल तथा सहरी बजारबाट करिब २३ करोड ९१ लाख रुपैयाँ बराबरका ९० हजारभन्दा बढी भेप बरामद भएका छन्। बरामदको परिमाणसँगै भेप कारोबारमा संलग्न व्यक्तिहरूको पक्राउ सङ्ख्या पनि बर्सेनि बढ्दै गएको छ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ६५ लाख रुपैयाँ बराबरका १९ हजार थान भेप बरामद गरिएको थियो। उक्त अवधिमा भेप कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको थियो। त्यसपछिको आव ०८१/८२ मा भेप तस्करी झन् बढ्दै जाँदा १२ करोड ६२ लाख २ हजार ५ सय ५ रुपैयाँ बराबरका ४१ हजार ९ सय ९९ थान भेप बरामद भए भने १३ जना कारोबारी पक्राउ परे। चालु आव ०८२/८३ को हालसम्म मात्रै ४ करोड ६४ लाख ९६ हजार १ सय ९१ रुपैयाँ बराबरका २९ हजार ६२१ थान भेप बरामद भइसकेका छन्।
पछिल्लो समय भेप तथा अन्य लागु औषधजन्य सामग्रीको अवैध ओसारपसार बढ्दै गएपछि सीमा क्षेत्रमा निगरानी र गस्तीसमेत कडा पारिएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले बताउँछन्। उनले भने, ‘अवैध रूपमा भित्रिने भेपको कारोबार नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रहरी परिचालन, निगरानी, पक्राउ तथा कानुनी कारबाहीका गतिविधि तीव्र पारिएका छन्।

’भेपको प्रयोग र बिक्रीमा कानुनी प्रतिबन्ध भए पनि यसको आकर्षण भने युवापुस्तामाझ बढ्दो देखिन्छ। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ले इन्टरनेट, वेबसाइट, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमार्फत सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने व्यवस्था गरेको छ। तर चलचित्र, म्युजिक भिडियो र सामाजिक सञ्जालमा भेपलाई आधुनिक जीवनशैलीको प्रतीकका रूपमा प्रस्तुत गरिँदा यसको प्रयोगकर्ता बढिरहेका छन्। अनलाइन माध्यमबाट हुने प्रचारप्रसारले पनि भेपको माग बढाउन भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।
चीन र भारत प्रमुख प्रवेशद्वार
खासगरी चीन र भारतसँग जोडिएका सीमा नाका भेप तस्करीका मुख्य प्रवेशद्वारका रूपमा देखिन थालेका छन्। केही दिनअघि मात्रै नेपाल–चीन सीमा क्षेत्रका दुई प्रमुख नाका कोदारी र कोरलाबाट ठुलो परिमाणमा भेप बरामद भएको घटनाले सुरक्षा निकायलाई थप सतर्क बनाएको छ। जेठ १ गते इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चीनतर्फबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको विभिन्न ब्रान्डका १ हजार ६ सय २० थान भेप बरामद गरेको थियो। ५६ लाख ७० हजार रुपैयाँ बराबर मूल्यांकन गरिएको उक्त भेपसहित आठ जना पक्राउ परेका थिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका गणेश खड्का, हिमाल खड्का, विकास बिक, रामबहादुर बिक, विशाल रोक्पाल, मंगलबहादुर थामी, कान्छा तामाङ र कैलाश तामाङ छन्। प्रहरीले उनीहरूलाई चीनबाट लुकाइछिपाइ भन्सार छली गरी भेप नेपाल भित्र्याउन खोजेको आरोपमा नियन्त्रणमा लिएको हो।
त्यसको भोलिपल्ट नेपाल–चीन सीमास्थित कोरला नाकामा झन् ठुलो परिमाणको भेप फेला पर्याे। लोमान्थाङ–१ छोसेर न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले शंकास्पद रूपमा ल्याइँदै गरेका दुई वटा मालवाहक कन्टेनर नियन्त्रणमा लिएर जाँच गर्दा ५९२ कार्टुन भेप बरामद गरेको थियो। भन्सार कार्यालयका अनुसार चीनको भन्सारबाट दुई दिनअघि लोड गरिएका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरहरू कोरला नाकामा रोकिएका थिए।
भन्सार स्रोतका अनुसार शनिबार सार्वजनिक बिदा परेकाले अधिकांश कर्मचारी लोमान्थाङमा आयोजित तिजी पर्व अवलोकनमा गएको अवसर छोपेर ती कन्टेनरहरू भन्सार छली नेपालतर्फ ल्याउन खोजिएको आशंका गरिएको छ। गोप्य सूचनाका आधारमा भन्सार कार्यालय र सुरक्षा निकायको संयुक्त टोलीले कन्टेनर नियन्त्रणमा लिएर खानतलासी गर्दा ठुलो परिमाणमा भेप फेला पारेको थियो।
आर्थिक वर्ष ०८०/८१ मा ६ करोड ६५ लाख रुपैयाँ बराबरका १९ हजार थान भेप बरामद गरिएको थियो। सो वर्ष ३ जना कारोबारी पक्राउ परेका थिए। त्यस वर्ष अधिकांश बरामद गण्डकी प्रदेशबाट भएको प्रहरी तथ्यांक छ।
भन्सार कार्यालयका अनुसार एक कार्टुनमा २२० वटा भेप रहेको छ। सोही आधारमा गणना गर्दा बरामद ५९२ कार्टुनमा करिब १ लाख ३० हजारभन्दा बढी भेप रहेको अनुमान गरिएको छ। प्रारम्भिक विवरणमा करिब एक लाख २० हजारभन्दा बढी भेप रहेको उल्लेख गरिएको छ। हाल स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा भन्सार अधिकारीहरूको रोहवरमा बरामद सामग्रीको यकिन परिमाण र मूल्य निर्धारण गरी मुचुल्का तयार पार्ने काम भइरहेको छ।
कन्टेनरका चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
कोरलास्थित स्रोतका अनुसार अवैध रूपमा ल्याइएका दुई कन्टेनर नेपाल–चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भ नजिक दुई दिनसम्म शंकास्पद रूपमा रोकिएका थिए। चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी कोरलानाकाबाट नेपाल भित्रिएका ती कन्टेनर तल नझरेपछि भन्सार कार्यालयले कडा निगरानी बढाएको थियो।
यसअघि चालु आर्थिक वर्षको पुस ९ गते पनि कोरलानाकाबाट दुई करोड २४ लाख रुपैयाँ बराबरका १६ हजार थान भेप बरामद गरिएको थियो। त्यसैगरी गत वर्ष सोही नाकाबाट भित्रिएका ६ करोड ८१ लाख रुपैयाँ बराबरका भेप भन्सार र सुरक्षा निकायको टोलीले बरामद गरेको थियो।
नेपाल ट्रान्जिट बनेको आशंका
सरोकारवालाहरूका अनुसार विश्वमा सबैभन्दा बढी भेप उत्पादन हुने देशहरूमध्ये चीन पनि पर्छ। चीनमा उत्पादन भएका भेप भारतलगायत अन्य मुलुकमा पुर्याउनका लागि नेपाल ट्रान्जिट मार्गका रूपमा प्रयोग भइरहेको आशंका बढेको छ। प्रहरीले पछिल्ला तीन आर्थिक वर्षमा मात्रै करिब २३ करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरका भेप बरामद गरेको तथ्यांक छ।
प्रहरीका अनुसार आर्थिक वर्ष ०७९/८० भन्दा अघि भेप बरामद उल्लेख्य थिएन। तर ०८०/८१ देखि भेप बरामद हुन थालेको देखिन्छ। आर्थिक वर्ष ०८०/८१ मा ६ करोड ६५ लाख रुपैयाँ बराबरका १९ हजार थान भेप बरामद गरिएको थियो। सो वर्ष ३ जना कारोबारी पक्राउ परेका थिए। त्यस वर्ष अधिकांश बरामद गण्डकी प्रदेशबाट भएको प्रहरी तथ्यांक छ।
आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६२ लाख २ हजार ५०५ रुपैयाँ बराबरका ४१ हजार ९ सय ९९ थान भेप बरामद गरिएको थियो। सो वर्ष १३ जना कारोबारी पक्राउ परेका थिए। प्रदेशगत रूपमा सो वर्ष काठमाडौं उपत्यकाबाट ६५ लाख ८८ हजार रुपैयाँ बराबरका ५ हजार २४० थान, मधेशबाट ४ करोड ९१ लाख २४ हजार ८०० रुपैयाँ बराबरका १६ हजार ६०० थान, बागमतीबाट ३९ लाख ८९ हजार ७०५ रुपैयाँ बराबरका १ हजार १५९ थान तथा गण्डकीबाट ६ करोड ६५ लाख रुपैयाँ बराबरका १९ हजार थान भेप बरामद भएको थियो।
चालु आर्थिक वर्ष ०८२/८३ को हालसम्म ४ करोड ६४ लाख ९६ हजार १ सय ९१ रुपैयाँ बराबरका २९ हजार ६२१ थान भेप बरामद भएको छ। यस अवधिमा काठमाडौं उपत्यकाबाट ६५ लाख ८५ हजार रुपैयाँ बराबरका ५ हजार २ सय ४० थान, बागमतीबाट ३ लाख ६९ हजार १ सय ९१ रुपैयाँ बराबरका १ सय ८१ थान, गण्डकीबाट २ करोड २४ लाख रुपैयाँ बराबरका १६ हजार थान र लुम्बिनीबाट १ करोड ७१ लाख ४२ हजार रुपैयाँ बराबरका ८ हजार २ सय थान भेप बरामद भएको प्रहरीको तथ्यांक छ।
नेपालमा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्द्धन कानुनले निषेध गरेको भए पनि पछिल्लो समयमा इलेक्ट्रोनिक सिगरेट (भेप) चुरोट छोड्ने विकल्पका रूपमा बिक्री वितरण हुँदै आएको देखिएको छ। यसले नियन्त्रणलाई थप चुनौतीपूर्ण बनाएको छ।
बिँडी र चुरोटभन्दा कम हानिकारक हुने भ्रमका कारण धेरै युवा भेपतर्फ आकर्षित भइरहेका छन्। विभिन्न स्वादमा उपलब्ध हुनु, गन्ध कम आउनु तथा ‘चुरोट छोड्न सहयोग गर्छ’ भन्ने प्रचारका कारण यसको प्रयोग बढेको देखिन्छ। तर स्वास्थ्य विज्ञहरूका अनुसार धेरै प्रयोगकर्ताले चुरोट घटाउने उद्देश्यले सुरु गरे पनि पछि चुरोट र भेप दुवै प्रयोग गर्ने अवस्था देखिएको छ। यसले लत अझै जटिल बनाउने जोखिम रहेको उनीहरूको भनाइ छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत ‘स्टाइल’, ‘कम हानिकारक’ वा ‘धूम्रपान छोड्ने विकल्प’ भन्दै भेपको प्रचार तीव्र बनेको छ। अनलाइन व्यापार र विभिन्न फ्लेभरको उपलब्धताले यसको पहुँच किशोर तथा युवामाझ सहज बनाएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार भेपमा प्रयोग हुने निकोटिनले लत बसाउने उच्च जोखिम रहन्छ। त्यसैले यसको प्रयोग निरुत्साहित गर्नुपर्ने उनीहरूको सुझाव छ। नेपालमा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्द्धन कानुनले निषेध गरेको भए पनि पछिल्लो समयमा इलेक्ट्रोनिक सिगरेट (भेप) चुरोट छोड्ने विकल्पका रूपमा बिक्री वितरण हुँदै आएको देखिएको छ। यसले नियन्त्रणलाई थप चुनौतीपूर्ण बनाएको छ।






About Us
प्रतिक्रिया