सवारी चोरी नियन्त्रणमा प्रहरीको सक्रियता, गिरोह नियन्त्रणमा विशेष अभियान


काठमाडौं – चोरी भएका सवारी साधन खोजी गरेर सम्बन्धित धनीलाई फिर्ता गराउने कार्यमा नेपाल प्रहरीले पछिल्लो समय सक्रियता तीव्र बनाएको छ। प्रहरीले चोरी भएका सवारी साधनको खोजीलाई प्राथमिकतामा राख्दै विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ। प्रहरीले चोरी भएका मोटरसाइकल, स्कुटर तथा कार बरामद गरी कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित सवारी धनीलाई फिर्ता गर्ने क्रम बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा चोरी भएका सवारी साधन बरामद हुने दर बढ्दो छ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा ५ सय २२ वटा, आर्थिक वर्ष ०८१/८२ मा ६ सय २१ वटा र चालु आर्थिक वर्ष ०८२/८३ को हालसम्म ३ सय ९९ वटा सवारी साधन फेला पारिएको छ। त्यस्तै, आर्थिक वर्ष ०८०/८१ मा ४ सय १७ वटा र ०८१/८२ मा ५ सय ३ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

सवारी चोरीका घटनामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दर्ता हुने निवेदनको संख्या पनि पछिल्ला वर्षमा घट्दै गएको प्रहरीको भनाइ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सवारी सुरक्षित स्थानमा पार्क गर्ने, सुरक्षा लक प्रयोग गर्ने तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी दिने जस्ता उपायहरूले सवारी चोरी न्यूनीकरणमासहयोग पुग्ने बताए। उनले सर्वसाधारणलाई पनि सचेत रहन आग्रह गरेका छन्।

प्रहरीका अनुसार सवारी चोरी गर्ने गिरोहहरूले सवारी पहिचान गर्न कठिन बनाउने उद्देश्यले विभिन्न उपाय अपनाउने गरेका छन्। उनीहरूले सवारीका पार्ट–पार्ट छुट्याएर बिक्री गर्ने, मोटरसाइकल र स्कुटरका नम्बर प्लेट परिवर्तन गर्ने तथा इञ्जिन र चेसिस नम्बरसमेत किर्ते कागजात बनाएर बिक्री गर्ने प्रवृत्ति देखिएको छ। यसले अनुसन्धान प्रक्रिया जटिल बनाउने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न स्थानमा निगरानी बढाउनुका साथै प्रविधिको प्रयोग, शंकास्पद गतिविधिको अनुसन्धान र विशेष अभियानमार्फत हराएका सवारी साधन पत्ता लगाउने काम तीव्र बनाएको छ। यसबाट धेरै सवारी धनीले राहत पाएका छन्। यसक्रममा चैत ६ गते जिल्ला प्रहरी परिसर ललितपुरले ‘बाइक हस्पिटल’ नामको ग्यारेज सञ्चालन गरी मोटरसाइकल चोरी गरेर बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार सवारी फिर्ता लिन कार्यालय पुग्ने सवारी धनीहरूको अनुहारमा देखिने खुसी र सन्तुष्टिले प्रहरीको कामप्रतिको विश्वास अझ बलियो बनाएको छ।

पक्राउ पर्नेमा सर्लाहीका विशाल महतो, भीमबहादुर अधिकारी र रौतहटका संजिव कुमार कुसवाहा रहेका छन्। उनीहरूले ललितपुरको टिकाथलीमा ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने, इञ्जिन तथा चेसिस नम्बरका किर्ते कागजात बनाएर बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले लामो समयदेखि हराएका सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।

फागुन ७ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखले ५३ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका थिए। त्यसपछि चैत ११ गते थप ५० वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी धनीलाई जिम्मा लगाइएको थियो। कार्यालयले गत साउन यता मात्र ३४७ वटा दुई पाङ्ग्रे सवारी साधन सवारी धनीलाई फिर्ता गरिसकेको जनाएको छ।
हराएका सवारी साधनको विवरण संकलन, निगरानी तथा विशेष अभियान सञ्चालन गरी प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी र नियन्त्रण पनि गरिरहेको छ।

सवारी चोरीका घटनामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दर्ता हुने निवेदनको संख्या पनि पछिल्ला वर्षमा घट्दै गएको प्रहरीको भनाइ छ। प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा २ हजार ४०२ निवेदन परेको थियो भने आर्थिक वर्ष ०८१/८२ मा २ हजार १५३ वटा र चालु आर्थिक वर्ष ०८२/८३ को हालसम्म १ हजार ७४२ वटा सवारी चोरीसम्बन्धी निवेदन दर्ता भएका छन्। कानुनअनुसार सवारी चोरीमा संलग्नलाई २ देखि ७ वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।

प्रहरीका अनुसार सवारी फिर्ता लिन कार्यालय पुग्ने सवारी धनीहरूको अनुहारमा देखिने खुसी र सन्तुष्टिले प्रहरीको कामप्रतिको विश्वास अझ बलियो बनाएको छ। सवारी चोरीमा संलग्न गिरोह नियन्त्रण गर्न विशेष रणनीति अपनाइएको र खुला सिमाना, नक्कली कागजात तथा सवारीका पार्ट छुट्याएर बेच्ने प्रवृत्ति मुख्य चुनौतीका रूपमा रहेको प्रहरीले जनाएको छ।