काठमाडौं – बाल्यकालमा धेरैको जस्तै रेनाको पनि एउटा सपना थियो-डाक्टर बन्ने। सेतो कोट लगाएर बिरामीको सेवा गर्ने उनको चाहना समयसँगै रूपान्तरण भयो। आज उनी स्वास्थ्य क्षेत्र होइन, बीमा क्षेत्रमा नेतृत्व गरिरहेकी छन्। उनी हुन् युनाइटेड अजोड इन्स्योरेन्सकी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेना रिजाल।
भनिन्छ, घर नै बालबालिकाको पहिलो पाठशाला हो। जीवनका आधारभूत मूल्य, अनुशासन र जिम्मेवारी बोध घरमै सिकिन्छ। रेनाको जीवनमा पनि यही कुरा लागू भयो। उनकी आमा नेपाल बैंकमा लामो समय काम गर्ने बैंकर थिइन् भने बुबा नेपाल एयरलाइन्समा कार्यरत थिए।
आमाले छोराछोरीको जिम्मेवारी र जागिरलाई सँगसँगै अघि बढाएको दृश्यले रेनालाई जीवनभरका लागि प्रेरणा दियो।
दुवै जागिरे अभिभावकको छायामा हुर्किएकी रेनाले सानैदेखि एउटै कुरा कामप्रतिको अनुशासन र समर्पणको अनुसरण गर्ने मौका पाइन्। ‘सानो छँदा ममीलाई दिनहुँ अफिस गएको आएको देख्थेँ। त्यहीँबाट छोरी मान्छे पनि आत्मनिर्भर हुनुपर्छ भन्ने सोच आयो,’ उनी बाल्यकाल सम्झिन्छिन्। आमाले छोराछोरीको जिम्मेवारी र जागिरलाई सँगसँगै अघि बढाएको दृश्यले रेनालाई जीवनभरका लागि प्रेरणा दियो।

काठमाडौंको रवि भवनमा जन्मिएकी रेनाले प्रारम्भिक शिक्षा काठमाडौंमै लिइन्। तर, बुबाको सरुवाका कारण उनले प्रवेशिका परीक्षा (एसएलसी) पाकिस्तानबाट उत्तीर्ण गरिन्। विदेशमा बसेर पढ्ने अनुभवले उनको दृष्टिकोण फराकिलो बनायो। नेपाल फर्किएपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएससी पूरा गरिन् र त्यसपछि त्रिचन्द्र क्याम्पसबाट बीएससी अध्ययन गरिन्। विज्ञान पृष्ठभूमिबाट अघि बढेकी रेनाले त्यतिबेला डाक्टर बन्ने सपना देखेकी थिइन्। तर, जीवनको यात्राले उनलाई फरक दिशातर्फ डाेर्यायाे।
विवाहपछि पनि उनले पढाइ रोकिन दिइनन्। पारिवारिक जिम्मेवारीसँगै उनले एमबीए पूरा गरिन्। विवाहपछि उच्च शिक्षा हासिल गर्नु उनका लागि सजिलो थिएन । तर, उनले निरन्तरता र धैर्य रोजिन्। आज रेना बीमा क्षेत्रको नेतृत्व तहमा पुगेकी छन्। नेपालजस्तो समाजमा जहाँ महिलाको नेतृत्व अझै चुनौतीपूर्ण मानिन्छ, त्यहाँ उनको यात्रा उदाहरणीय छ।
‘सानैदेखि डाक्टर बन्छु भन्ने इच्छा थियो । बैंकिङ्ग बीमामा काम गर्छु भन्ने सोचेको नै थिइनँ,’ उनी भन्छिन्। मागी विवाह गरेकी रेनाको विराटनगरमा विवाह भएको हो। काठमाडौंमा हुर्केकी रेनाले विवाह लगतै सन्तान जन्माइन्। बिचको समय उनी यत्तिकै बसिरहेकी थिइन्। रेनाले व्यवसायिक घरानामा विवाह गरेको कारण पनि जागिर खान नमिल्ने थियो। जसकारण पनि उनले कम्पनीमा प्रवेश गर्न भने सकेकी थिइनन्। व्यावसायिक घरानामा विवाह भए पनि रेनाले भने काम गर्नुपर्छ घर बस्न हुँदै भन्ने किसिमको सोचाई राख्थिन्। त्यसरी नै उनले बीमा क्षेत्र प्रवेश गरेकी हुन्।
बीमा, बैंक हुँदै बीमामा नै फर्किएकी रेना
उनले सन् २००० मा बीमा क्षेत्र प्रवेश गरेकी हुन्। त्यसअघि कहिँकतै काम नगरेकी रेनाको जागीरे जीवन पनि विवाह पश्चात अझ भनौ आमा बनेपछि मात्रै सुरु भएको थियो। उनले एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा करिअर सुरु गरेकी हुन्। उनले एभरेष्टमा झण्डै एक दशक काम गरिन्।
एक दशक बीमा कम्पनीमा काम गरेपछि उनी बैंकिङ्ग क्षेत्र प्रवेश गरिन्। उनले बैंकिङ्गमा पनि एक दशक बिताइन्। उनले कुमारी बैंकमा एक दशक काम गरेकी हुन्। बैंकमा काम गर्दैगर्दा देशमा कोरोना महामारी बढेको थियो। सोही समयमा उनले बैंकको जागिर छाडेर एक वर्ष होल्ड गरिन्। र, उनी एक वर्षपछि पुन बीमा क्षेत्रमा नै फर्किइन्। बीमा निकै प्राविधिक विषय भएकोले बीमामा नै काम गर्ने इच्छा आएको उनको भनाई छ। उनी सानिमा जीआईसीबाट पुन बीमा क्षेत्रमा आएकी हुन्। उनले सानिमा जीआईसीमा भने लामो समय काम गरिनन्। सानिमा जीआईसी छाडेर उनी हालको युनाटेड अजोड इन्स्योरेन्समा काम सुरु गरेकी हुन्।

घरबाट बाहिर निस्किन बीमा क्षेत्र अंगालेकी रेना
रेना पैसा कमाउने विषय भन्दा पनि घरबाट बाहिर निस्किएर काम गर्नुपर्छ भन्ने मान्यता राख्थिन्। उनले सोहीकारण पनि पहिलो पटक पाएको अवसरका कारण नै बीमा क्षेत्र प्रवेश गरेकी हुन्। काम सुरु गरेपछि बीमा क्षेत्रमा थप काम गर्ने चाहना बढ्दै गएको उनको भनाइ छ।
अहिले युनाइटेड अजोड इन्स्योरेन्सको माथिल्लो तहमा बसेर हेर्दा रेना आफ्नो करिअरको सुरुवाती चरणलाई निकै सम्झिन्छिन्। जागिर सुरु गरेको क्षण र बैंकिङ्ग क्षेत्रमा बिताएको दिन उनले अत्यन्तै सम्झिने गरेको बताउँछिन्। अहिलेको अवस्थामा उनी कामु सीईओको रुपमा कार्यररत छिन्। उनले यसलाई करिअर कै ठूलो अवसरको रुपमा हेरिरहेकी छिन्।
नेतृत्वदायी भुमिकामा महिलाको उपस्थितीमा कमी
रेनाले बीमा क्षेत्रमा जुनियर लेभरबाट इन्ट्री गरेकी हुन्। त्यतिबेला साना बच्चा छाडेर जागीरे जीवन सुरु गरेकी उनकाअनुसार वित्तीय क्षेत्र महिलाहरूका लागी काम गर्न उपयुक्त क्षेत्र हो। हरेक क्षेत्रमा काम गर्दा चुनौती सिर्जना हुन्छ। जसमा पनि महिलाहरूलाई परिवारको पनि जिम्मेवारी बढी हुने गरेकाले काम गर्दा विभिन्न चुनौतीहरू सिर्जना हुन्छन्। सामान्यतया तल्लो लेभलमा महिलाहरूको बाक्लो उपस्थिति देखिए पनि कम्पनीको नेत्तृत्वदायी भूमिकामा भने महिलाहरूको उपस्थिति बढ्न सकेको छैन।
महिलाहरूलाई मथिल्लो तहमा पुग्ने अवस्था सम्ममा पेशााबाट पलायन हुनुपर्ने परिस्थितीसँगै परिवारको जिम्मेवारीका कारण नेतृत्वदायी भुमिकामा महिलाको उपस्थिति कम देखिएको उनको बुझाई छ।
बैंक तथा बीमा कम्पनीमा नै अनुभव सँगालेकी रेनाकाअनुसार विशेष गरी बैंकको इन्ट्री लेभलमा बढी महिलाहरू हुने गरेका छन्। तर, बिचमा परिवार र व्यवसायीक जीवनको व्यवस्थापन गर्न नसक्दा धेरै महिलाहरू बाहिरिने गरेका उदाहरण पनि छन् । तर, बिचको समयमा आउने हरेक चुनौतीहरूलाई सामना गरेर नेतृत्वदायी भूमिकामा महिलाहरू पुग्नुपर्ने रेनाको सुझाव छ। भगवानप्रति अत्यन्तै आशा राख्ने रेना महिलाहरूलाई हरेक चुनौतीको सामना गर्न सक्ने शक्ति दिएको बताउँछिन्।
करिअरमा आवश्यक छ परिवारको सहयोग
जो कोही व्यक्तिलाई अगाडी अझ भनौँ नेतृत्वदायी भूमिकामा पुग्नका लागि परिवारको सहयोग अत्यन्तै आवश्यक पर्छ। जसमा पनि महिलाको जीवनमा परिवारको सहयोगले अझ ठुलो भूमिका खेलेको हुन्छ। रेना पनि परिवारको सहयोगका कारण नै आफू यो स्थानसम्म आइपुगेको बताउँछिन्।
विवाहित महिलाको हकमा सासू ससुरा र श्रीमान् र अविवाहित महिलाको हकमा बुबा आमा साथै परिवारले गर्ने सहयोग अत्यन्तै आवश्यक हुने बताउँछिन्। घर परिवारको साथसँगै आफूले पनि मेहनत गर्नुपर्ने बताउँछिन्। उनले आफू पनि चुनौती सामना गर्न तयार भएका कारण नै नेतृत्वदायी भूमिकामा आइपुगेको बताइन्। महिलाहरू सहजता बढी खोज्ने गरेको भन्दै रेनाले कम्फर्ट जोनबाट बाहिर निस्किनुपर्ने बताएकी हुन्।

रेनालाई सामाजिक सञ्जालले पनि धेरै सहयोग गरेको छ। घर परिवारसँग सधैँ भेट्न नसके पनि सामाजिक सञ्जालका कारण समय व्यवस्थापन सहज भइरहेको छ। रेना अहिले सासू र ससुरासँगै संयुक्त परिवारमा बस्छिन्। जसले गर्दा पनि रेनालाई समय व्यवस्थापनमा भने सहज भएको छ।
रेना अहिले आफ्नो कामप्रति सन्तुष्ट छिन्। आफूले गरेको कामअनुसार अवसर पनि पाइरहेको बताउँछिन्। सीमित महिला मात्रै निर्णायकको भूमिकामा पुगेको समयमा आफूले गर्नुपर्ने काम धेरै रहेको भन्दै प्रमाणित गरेर देखाउनुपर्ने अवस्थामा रहेको बताइन्।
उनले कुनै पनि पेसामा समानता खोज्दा काम पनि समान नै गर्नुपर्ने बताइन्। हालसम्म महिला भएकै कारण कुनै चुनौती सामना नगरे पनि महिलाको नेतृत्वलाई भने पुरुष कर्मचारीले सहजै स्वीकार नगर्ने गरेको उनको अनुभव छ। पुरुष प्रधान समाजमा आफ्नो छोराहरूलाई भने काममा महिला पुरुष भन्ने नहुने गरी उनले संस्कार दिइरहेको बताइन्। ‘अनुभव, क्षमताका आधारमा नेतृत्वमा पुग्ने भएकाले महिला पुरुषका विषय आउनुहुँदैन,’ उनी भन्छिन्।
महिलाहरूलाई माथिल्लो तहमा पुग्ने अवस्था सम्ममा पेशाबाट पलायन हुनुपर्ने परिस्थितिसँगै परिवारको जिम्मेवारीका कारण नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति कम देखिएको उनको बुझाई छ।
रेनाले महिला कर्मचारीहरूले आफ्नो मानसिकता पनि परिवर्तन गर्न आवश्यक रहेको बताइन्। महिला भएको कारण नै काम गर्न सकिन भन्ने किसिमको मानसिकता परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। इन्ट्री लेभलमा महिलाहरू बढी काम गरे पनि पछि विवाह, सन्तान भएपछि छोड्नुपर्ने बाध्यता जुन छ त्यसको अन्त्य भए मात्रै वित्तीय क्षेत्रमा उच्च तहमा महिलाको सहभागिता बढाउन सकिने उनको भनाई छ।

हिजो आज बैंकमा काम गर्ने महिलाहरूका लागी बच्चाको केयर गर्ने ठाउँ भएजस्तै बीमा क्षेत्रमा पनि यसको अभ्यास हुनुपर्ने उनको भनाइ छ। पहिलेको तुलनामा बीमा क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ। यतिबेला बीमा कम्पनीमा महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत बनिसकेको अवस्था छ। कतिपय बीमा कम्पनीमा महिलाहरू सेकेन्ड म्यानको रूपमा कार्यरत छन्। बिस्तारै महिलाहरूको सहभागिता बढ्दै जान्छ। महिलाले गरेको व्यवस्थापन पनि राम्रो भइरहेको छ। यसलाई सकारात्मक रूपमा लिनुपर्छ।



About Us
प्रतिक्रिया