अपराध गर्ने प्लेटफर्मका रूपमा स्थापित हुँदै सामाजिक सञ्जाल


काठमाडौं – विश्वभर प्रविधिको क्षेत्रमा भइरहेको आमूल परिवर्तनसँगै प्रविधिका प्रयोगकर्ताको संख्यामा तीव्र वृद्धि भइरहेको छ । सूचना प्रविधि, इन्टरनेट र डिजिटल उपकरणहरूमा भएको निरन्तर नवप्रवर्तनका कारण मानिसहरूको जीवन प्रविधि निर्भर बन्दै गइरहेको हो । प्रविधिको विकासले गर्दा जुनसुकै कामका लागि पनि सहज भएतापनि, यस्ता प्रविधिका माध्यमबाट हुने दुरुपयोगका कारण विभिन्न प्रकारका ठगीका घटनाहरू बढीरहेका छन् ।

सबैभन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जाल
डाटारिपोर्टलका अनुसार नेपालमा सबैभन्दा धेरै फेसबुकका प्रयोगकर्ता रहेका छन् । त्यसपछि म्यासेन्जर, इन्स्टाग्राम, लिंक्डइन र ट्विटरका प्रयोगकर्ता सबैभन्दा धेरै छन् । डाटारिपोर्टलका अनुसार नेपालमा १ करोड ४३ लाख जनाले फेसबुक, ३९ लाख जनाले इन्स्टाग्राम, १ करोड ९ लाख जनाले म्यासेन्जर, २० लाख जनाले लिंक्डइन र ४ लाख जनाले ट्विटर चलाउने गरेका छन् । त्यस्तै कुल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा १८ वर्षभन्दा माथिका ७२.८ प्रतिशत रहेका छन्, भने ४४.५ प्रतिशत महिला र ५५.७ प्रतिशत पुरुषले सामाजिक सञ्जालका प्रयोगकर्ता छन् ।

सामाजिक सञ्जालको चुनौती
त्यस्तै, सामाजिक सञ्जालले अवसरसँगै चुनौती पनि ल्याइरहेको छ । यस्ता सञ्जालको प्रयोगले व्यक्तिगत डाटा सुरक्षा, साइबर अपराध र डिजिटल चोरी जस्ता चुनौती सिर्जना भएका छन् । विकासशील मुलुकहरूले यस्ता सामाजिक सञ्जाललाई व्यवस्थित तरिकाले चलाउन दिएका हुन्छन् । तर नेपालमा यस्ता सञ्जालहरूलाई व्यवस्थित गर्न नसकेको सरोकारवालाहरू बताउँछन् । जसमा व्यक्तिगत डाटा सुरक्षा, साइबर अपराध र डिजिटल विभाजन प्रमुख समस्या हुन् ।

यस्ता सामाजिक सञ्जाललाई व्यवस्थित रुपमा सञ्चालन गर्दा विभिन्न विकास विस्तारमा सहज हुने अवस्था रहेता पनि नेपाल जस्तो विकासोन्मुख देशहरूका लागि ठगी गर्ने साधनको रुपमा देखिएको सारोकारवाला बताउँछन् । तर पछिल्लो समयमा समाजिक सञ्जाललाई अपराध गर्ने यन्त्रका रुपमा प्रयोग गरिएको प्रहरीमा दर्ता भएको उजुरीका संख्याले देखाउछ । नेपालमा हुने गरेका यस्ता अपराधीक गतिविधिलाई कम गर्न प्रहरीले जनचेतना मुलुक कार्यक्रमहरुको सञ्चालन गरिदै आइरहेको छ । कतिपयले एउटै सामाजिक साञ्जालको प्लेटफर्ममा ५, ६ वटासम्म एकाउन्ट बनाउने गरेका हुन्छन् ।

यसै वर्षको बैशाखमा मात्र ७ जनालाई २१ वटा सामाजिक सञ्जालका एकाउन्ट बनाएर २ करोड ६३ लाख रुपैयाँ ठगी गरेका थिए। यस्ता किसिमका घटनाहरु प्रहरीमा पछिल्ला समयमा धेरै नै आउने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । पछिल्लो समयमा विशेषगरी अनलाइन कारोबार, सामाजिक सञ्जालको प्रयोग, र डिजिटल भुक्तानी प्रणालीका माध्यमबाट ठगहरू सजिलै आफ्नो उद्देश्य पुरा गर्ने जस्ता घटनाहरु प्रहरीमा पर्ने गरेको प्रहरीको भनाइ रहेको छ । मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता (एआई) तथा अनलाइन सेवाहरूको पहुँच बढेसँगै विकसित मुलुक मात्र नभई विकासोन्मुख मुलुकमा समेत प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढेको तथ्यांकहरूले देखाएका छन्।

सामाजिक सञ्जालको प्रयोग गरी कारोबार गर्न सजिलो र सुरक्षित हुने भएकाले प्रायले यस्ता प्लेटफार्महरुको प्रयोग गर्ने गरेका हुन्छन् । हाल बच्चादेखि वृद्ध सबै जना स्म्राट फोनको प्रयोग गर्ने भएकाले गर्दा सबै जनाको सामाजिक सञ्जालमा एकाउन्ट पनि हुने गरेको पाइन्छ । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार हाल अशिक्षाका कारणले भन्दा पनि लोभका कारणले गर्दा सामाजिक सञ्जालका माध्यमबाट हुने ठगीका घटनाहरुमा फस्ने गरेका छन् । पछिल्ला समयमा अशिक्षाले गर्दा भन्दा पनि लाभले गर्दा धेरै व्यक्तिहरू ठगिने गरेको उनले बताए । सामाजिक सञ्जालको सेक्युरेटीलाई थप बलियो बनाउन आवश्यक रहेको उनी बताउँछन् ।

प्रहरीमा पर्ने उजुरीको संख्या
आव ०७९/८०मा २६ वटा सामाजिक सञ्जाल ठगीको उजुरी प्रहरीमा दर्ता भएका थिए । यस्ता कार्यमा संलग्न रहेको अभियोगमा १४० जना नेपाली र ३ जना विदेशी पक्राउ परेका थिए । उनीहरुले ३ करोड १ लाख बराबरको रकम ठगी गरेको खुल्न आएको थियो । आव ०८०/८१ मा १६ वटा सामाजिक सञ्जाल ठगीको उजुरी दर्ता भएका थिए, भने १६ जना स्वदेशी र १ जना विदेशी पक्राउ परेका थिए । उनीहरुले ५७ लाख ८५ हजार बराबरको रकम सामाजिक सञ्जालका माध्यमबाट ठगी गरेका थिए । त्यस्तै, चालु आव ०८१/८२ को माघसम्ममा १२९ वटा उजुरी दर्ता भएको थियो । जसमा संलग्न रहेको अभियोगमा ८ जना प्रकाउ परेका थिए । उनीहरूले सामाजिक सञ्जालका माध्यमबाट १ करोड ७३ लाख ९१ हजार बराबरको रकम ठगी गरेका थिए ।

किन बढ्दैछ ठगी
सामाजिक सञ्जालका प्रयोगकर्ताहरू कसरी चलाउने र चलाउँदा के हुन्छ नै नसोची एकाउन्ट बनाउने गरेको गरेकाले सामाजिक सञ्जाल अनलाईनमार्फत हुने ठगीका घटनाहरूको केन्द्रको रुपमा प्रस्तुत भइरहेका छन् । एकै जनाको नाममा वृहत संख्यामा समाजिक सञ्जालका खाता खुल्ने गरेका छन् । नेपालमा हाल भईरहेका यस्ता घटनाहरुरुलाई कमि गर्नका निम्ति सरकारले एक नियामक निकायको स्थापना गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् । सामाजिक सञ्जालको बारेमा सिमित ज्ञान समेत नभएकाहरुले पनि सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् ।

सर्वसाधाराणहरुको माझमा यस्ता सामाजिक सञ्जाल बारेमा जनचेतना पुर्याउन नसक्दा ठगीनेका क्रम झनै बढेको पाइएको छ। सामाजिक सञ्जालमा आफुले नचिनेको व्यक्तिसँग साथी बन्नका निम्ति भन्दै जोसँग पनि बोल्ने र साथी बन्ने प्रवृत्तिले गर्दा झनै धेरै व्यक्तिहरू यस्ता अपराधीहरुको जालोमा पर्ने गर्छन् । अनलाइनबाट हुने अपराधहरुमा अपराधिहरुले समाजिक सञ्जाललाई पहिलो माध्यमका रुपमा प्रयोग समेत गर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।

ठगी गर्नेलाई कस्तो छ नेपालमा कानुन
नेपालमा सामाजिक सञ्जाल चलाउनका लागि कुुनै व्यवस्थित नियामक निकाय नै छैन । जसले गर्दा जो कोहीले पनि आफ्नो तरिकाले जुन सुकै सामाजिक सञ्जालमा एकाउन्ट बनाउने गरीएको प्रहरी प्रवक्ता घिमिरे बताउँछन् । एक लाखभन्दा बढी प्रयोगकर्ता भएका सञ्जाल अनिवार्य रूपमा दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने र त्यसो नगरे २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने भने व्यवस्था रहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा सामाजिक सञ्जालहरुको माध्यमबाट अनलाइन ठगी, इलेक्ट्रोनिक माध्यम प्रयोग गरी कसैको पासवर्ड, क्रेडिट कार्ड नम्बर, बैंक खाता विवरण वा अन्य संवेदनशील जानकारी ठग्र्ने, निजी जीवनमा हस्तक्षेप गरी संवेदनशील जानकारी (जस्तै पासवर्ड, बैंक विवरण, निजी डाटा) लिने, कसैबाट ठगी वा छलका माध्यमबाट प्राप्त गर्ने, फोन, इमेल वा अन्य सञ्चार उपकरण प्रयोग गरी आफू सरकारी वा कुनै निकायको प्रतिनिधि भएको झूटो दाबी गर्दै पैसा माग्ने, पुरस्कार, उपहार वा कुनै लाभ दिने बहानामा ठग्ने, जस्ता अपराधिक कार्यमा संलग्न हुनेहरूलाई ५ वर्ष जेल सजाय वा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।