बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा बितीय संस्थाहरुले घटाएको ब्याजदर आज चैत्र १ गतेदेखि लागु भएको छ । बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल वित्तीय संस्था संघले यस अघि नै ब्याजदर घटाउने निर्णय गरेका थिए ।
नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् । फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् । बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् । संघले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यस अघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरेका थिए ।
त्यस्तै, डेभलपमेन्ट बैंकर्स एशोसिएसनले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ । संघले व्यक्तिगत मुद्दति निक्षेपको हालको ब्याजदर ब्याजदर ११.७५ प्रतिशतबाट घटाएर ११.६० प्रतिशत कायम गरेको छ । यो एक वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा लागु हुन्छ । एक वर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशत कायम भएको छ ।
नेपाल वित्तीय संस्था संघले एक बर्ष र सो भन्दामाथिको मुद्दति निक्षेपको ब्याज दर ०.२० प्रतिशत र तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको छ । यस सँगै पहिला १२.१० प्रतिशत रहेको ब्याज अब चैतदेखि ११.९ प्रतिशत कायम भएको छ । बचतको ब्याजमा भने कुनै फेरबदल गरिएको छैन । संस्थागततर्फ स्वतः २ प्रतिशत कम हुने गरि ब्याज कायम हुने गरि संघले निर्णय गरेको छ ।
प्रतिक्रिया