बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाले लिएको चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीहरुले विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।
बैंकको ब्याजदर घटाउन पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाएलगत्तै व्यवसायीहरुले पनि हिजैबाट आन्दोलन फिर्ता लिएका छन् ।
बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि भइरहेको विरोधको क्रममा हिजो बालुवाटार घेराउ गरिएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि व्यवसायीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । मंगलबार बेलुका प्रधानमन्त्री प्रचण्डको छलफलपछि बैंक वित्तीय संस्था विरुद्धको जारी आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् ।
‘बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार हुनुहुन्छ, ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौं,’ उनले भने ।
बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता सङ्गठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उनीहरु सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्नामा समेत बसेका थिए ।
प्रतिक्रिया